लकडाउन खुकुलो भएपछि दुईपांग्रे सवारी दर्ता उत्साहजनक देखिएको छ। यातायात व्यवस्था कार्यालय मोटरसाइकल, बागमती प्रदेशमा आर्थिक वर्ष २०७६७७ को अन्तिम महिना असारमा अर्थात् लकडाउन खुकुलो भएपछि ६ हजार ५४ वटा मोटरसाइकल तथा स्कुटर दर्ता भएको कार्यालयले जनाएको छ। दुईपांग्रे सवारी दर्ता लकडाउन खुकुलो भएपछिको पहिलो महिनामा उत्साहजनक देखिएको हाे।
गत चैत ११ देखि कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न सरकारले गरेको लकडाउनका कारण सवारी दर्ता ठप्प थियो। सरकारले असार १ देखि लकडाउन केही खुकुलो बनाएर सरकारी कार्यालयहरु सञ्चालन गर्ने निर्णय गरेसँगै सवारी दर्ता समेत सुरु भएको थियो।
गत आर्थिक वर्ष २०७५७६ को असारमा ७ हजार २ सय ९६ वटा मोटरसाइकल दर्ता भएका थिए। कोरोना भाइरसका कारण सवारीसाधनको बिक्री उल्लेख्य रुपमा गिरावट आउने अनुमान व्यवसायीहरुले गरेका थिए। तर, कोरोनाको संक्रमण जोखिम कायमै रहेको र सार्वजनिक सवारीसमेत नचलेकाले कामकाजीहरुले दुईपांग्रे सवारी रोजेकाले बिक्री बढेको व्यवसायीहरुको भनाइ छ।