मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली सेनाले विदेशी सेनालाई हराएको आजको दिन



बागमती, १० माघ । आज माघ १० गते, आजभन्दा दुईसय ६० वर्षअघि आजकै दिन बङ्गाली नवाव मीर कासिमको फौजलाई पराजित गर्दै नेपालमा एउटा ठूलो उत्सव मनाइएको थियो । त्यसदिनको सम्झनामा केही वर्षदेखि हरेक माघ १० लाई विजयोत्सव मनाउँदै आइएको छ ।

गोर्खाका तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोट कब्जा गरेपछि एउटा स्वतन्त्र राज्यको रुपमा मकवानपुर कब्जा गरेका थिए । इतिहासकारका अनुसार नेपाल एकीकरणको सुरुआतको रुपमा मानिने मकवानपुर कब्जाको घटना १८१९ भदौ ९ गतेको हो । बहिनीज्वाइँ पृथ्वीनारायणले आफ्नो राज्य खोसेपछि मकवानपुरका अन्तिम राजा दिग्वन्धन सेनले बङ्गालसँग सैन्य सहयोग मागेका थिए ।

मकवानपुरबाट भागेका राजा दिग्वन्धन सेनले वाग्मती नदीको किनारी भागमा पर्ने खँुडाघाट पुगेर मकवानपुरबाट गोरखाली सैनिकलाई लखेट्ने योजना बनाए । उनले मीर कासिमसँग सहयोग मागी देवान कनकसिंह बानियाँलाई पत्र पठाए । मकवानपुरलाई सहयोग गर्दा आफूलाई प्रसस्त फाइदा हुने देखेका नवावले सहयोग गर्ने बताए ।

मकवानपुरलाई सहयोग गर्दा मकवानपुरमा राजनीतिक प्रभाव पर्ने मात्रै नभई उपत्यका र भोटसम्मै व्यापार बढाउन सकिने र राज्य विस्तार गरी पहाडतिरबाट अङ्ग्रेजसँग धावाबेल्न सहज हुने ठानेका उनलाई लडाइँमा लाग्नेको सम्पूर्ण खर्चसमेत मकवानपुरले ब्यहोर्ने कुराले थप उत्साहित बनाएको इतिहासकार बाबुराम आचार्यले आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ ।

त्यसपछि १८१९ पुसमा गुरगिन खाँको नेतृत्वमा करिब तीन हजार सैनिक र भरिया मकवानपुर गढीमा गोरखालीसँग लडाइँ गर्नका लागि आएका थिए । इतिहासविद् प्रा दिनेशराज पन्तका अनुसार गुरगिन खाँ बङ्गाली मुस्लिम नभई युरोपेली मुलुक अर्मेनियाँका ग्रे गुरी थिए ।

इतिहासकारका अनुसार अङ्ग्रेजकै बलमा ससुराको राज्य पाएका मीर कासिमलाई अङ्ग्रेजले नै राज्यच्यूत गराउने प्रयास गरेपछि कासिमले युरोपबाटै आधुनिक हतियार र तालिम प्राप्त सैनिक ल्याएर आफ्ना सेनालाई तालिम दिई सशक्त पारिरहेका थिए । खाँ अङ्ग्रेजविरुद्ध तयार पारिएका ती सेनाको परीक्षण गर्न पनि चाहन्थे । त्यसैले खाँले आफ्ना सेना पठाएका थिए भनेर कतिपय इतिहासकारले उल्लेख गरेका छन् । तिनीहरूका बीचमा डढुवागढी भन्ने स्थानमा घमासान लडाइँ भयो ।

बङ्गाली सेनालाई पराजित गर्दै गोर्खालीले सयौँ हातहतियार र तोप कब्जा गरेको दिन हो माघ १० । त्यस उत्सवमा पृथ्वीनारायण शाह स्वयं उपस्थित भएको इतिहासकारको भनाइ छ । इतिहासकारका अनुसार विदेशी सेनासँग नेपाली सेनाले लडाइँ लडेर सबैभन्दा ठूलो जीत हासिल गरेको पहिलो युद्ध भएको दिन हो माघ १० ।

नेपाललाई जितेर लुटपाट मच्चाउन आएको विदेशी सेनालाई नेपाली सेनाले पराजित गरेको आजको दिन नेपाललाई स्वतन्त्र मुलुकको रुपमा स्थापित गराउन महत्वपूर्ण दिन भएको इतिहासकार बताउँछन् । त्यस लडाइँमा बङ्गाली सेनाबाट जफत गरिएका हातहतियारको कारण नै गोर्खाली सेनाले नेपाल एकीकरण अभियान सफल बनाएका थिए भने नेपाली सेना व्यवस्थित हुने अवसर प्राप्त भएको थियो । माघ १० नेपालको इतिहासमा गर्विलो दिन भएको इतिहासकारको भनाइ छ ।

नेपाली सेनाले विदेशी सेनासँग लडेर सबैभन्दा धेरैको सङ्ख्यामा हताहती गरेको र ठूलो परिमाणमा हातहतियार कब्जा गरेको दिनको रुपमा हरेक वर्ष माघ १० गते मकवानपुरको मकवानपुर गढीमा विजयोत्सव मनाउने गरिन्छ ।

मकवानपुरसँगको लडाइँ जितेर काठमाडौँ उपत्यका छिर्ने र पशुपति, स्वयम्भूजस्ता क्षेत्रमा लुटपाट गर्ने योजना बङ्गाली फौजको थियो । पुसमा मकवानपुरमा आएको त्यस बङ्गाली फौजले १२ दिनसम्म हर्नामाडीको चौकी तथा पशुपन्छी र अन्नपात कब्जा जमाएर बस्यो । गुरिल्ला युद्ध गर्न माहिर गोर्खाली सेनाले त्यो अवधिभर युद्धको तयारी र तालिम गर्न पायो । माघ ९ गते मध्यराति सम्पूर्ण तयारी सकेर गोर्खाली फौजले चारैतिरबाट आक्रमण ग¥यो ।

इतिहासकारका अनुसार चार सय दक्ष र केही झारा सैनिक रहेको गोर्खालीले तीन हजार फौजको युरोपेली कमाण्डरसहितको बङ्गाली सेनामा हाहाकार मच्चाए । विसं १८१९ माघ ९ गते सुरु भएर १० गते बिहान सकिएको त्यस युद्धमा बङ्गालका तीन हजारमध्ये एक हजार सात सय सेना मारिए । नेपालका दुई कमाण्डरसहित २०÷२५ जना सेना मारिएको वंशावलीलाई उल्लेख गर्दै इतिहासकार बाबुराम आचार्यले आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ ।

आजभन्दा दुई सय ६० वर्षअघिको आजकै दिनको जितपछि गोर्खाली सेनाले कासिमका फौजबाट पाँच सयभन्दा धेरै राइफल र दुई ९कतै चार तोप हात पारेको उल्लेख छ० तोप हात पारेर चार गुल्म श्रीनाथ, कालीबक्स, बर्दबहादुर र सबुज गुल्म बनायो । केही समयपछि पुरानो गोरख गुल्मसमेत स्थापना गर्न सफल भयो ।

इतिहासकारका अनुसार सो युद्धमा मकवानपुरगढीका सेना नायक सरदार नन्दु शाहको नेतृत्वमा चार सय सैनिक थिए । पछि पृथ्वीनारायणले थप आठ सय सेनासमेत पठाएका थिए तर उनीहरु आइपुग्नु अगाडि लडाइँ सकिएको थियो । पहिलो विजयोत्सवमा सहभागी हुन पृथ्वीनारायण शाह स्वयं यहाँ आएको जानकार बताउँछन् ।

नेपाल एकीकरणको सुनौलो अवसरको रुपमा सैनिक इतिहासमा लेखिएको त्यो लडाइँ देशकै सबैभन्दा ठूलो गढीको रुपमा रहेको मकवानपुर गढी नजिकै शिखरकटेरीमा भएको बताइन्छ । लडाइँमा हारेर भागेका बङ्गालीलाई हर्नामाडीसम्मै खेदेका गोर्खाली सेनाको घेराबाट गुरगिर खाँ भाग्न सफल भएकाथिए ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ७ : १७ बजे