मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीविरुद्ध नारा लगाउने तीन युवा धरौटीमा छुटे



१४ चैत, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेपछि अभद्र व्यवहारमा मुद्दा कारगार चलान भएका तीनजना युवक धरौटी बुझाएर रिहा भएका छन्।

७ चैतमा थापागाउँमा आयोजित ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलनसम्बन्धी सार्वजनिक कार्यक्रममा सहभागी हुनेक्रममा प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेका सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर अभद्र व्यवहारमा मुद्दा चलाएको थियो।

सो मुद्दामा १२ चैतमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले ५ हजार धरौटी तोकेका थिए। धरौटी नबुझाएपछि उनीहरु जेल चलान भएका थिए। तर, मंगलबार धरौटी बुझाएर उनीहरु रिहा भएका छन्।

उनीहरुलाई नियन्त्रणमा लिनेक्रममा प्रहरीले मुख थुनेको भिडियो सार्वजनिक भएपछि सरकार तथा प्रधानमन्त्री प्रचण्डको आलोचना भएको थियो।

उनीहरु रिहा हुनु केही घण्टा अगाडि मंगलबार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रमा विरोधीको मुख थुन्न नपाइने भन्दै तत्काल उनीहरुलाई रिहा गर्न प्रधानमन्त्रीसँग माग गरेका थिए।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ५ : ३३ बजे