मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपराष्ट्रपतिद्वारा पर्वतारोही बुढामगरलाई सम्मान



काठमाडौँ, १२ जेठ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले घुँडामाथिसम्म दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका पर्वतारोही हरि बुढामगरलाई आज विशेष सम्मान गरेका छन् ।

लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा विशेष समारोहको आयोजना गरी उनले सफल आरोही बुढामगरलाई बधाई तथा शुभकामना दिएका हुन् ।

“तेह्र वर्षअघि गोर्खा सैनिकका रुपमा अफगानिस्तानको लडाईंमा दुवै खुट्टा गुमाएपछि पनि आफ्नो कठोर परिश्रम, दृढ इच्छा शक्ति र जीवनमा केही गर्ने हुटहुटीले तपाईंलाई कीर्तिमानी बनाएको छ”, उपराष्ट्रपति यादवले भने । 

खुट्टा नहुँदाको प्रतिकूलतालाई चिर्दै कृत्रिम खुट्टाको प्रयोग गरी बुढामगरले विश्व कीर्तिमान कायम गरेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले यसबाट सम्पूर्ण नेपाली गौरवान्वित भएको बताए । “तपाईंका लगन, धैर्य र आत्मबल तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउने यस कीर्तिमानी कार्यको उच्च प्रशंसा गर्न चाहन्छु । यो सफलता अपाङ्गता भएका व्यक्तिका लागि प्रेरणाको स्रोत बन्न सकोस् ।”

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ३ : १३ बजे