दहचोकस्थित सुरुङ मार्ग क्षेत्रका स्थानीय आन्दोलित : माग सम्बोधन नभए निर्माणको काम रोक्ने चेतावनी



काठमाडौं । दहचोकका स्थानीयले सुरुङ मार्गका कारण भएको क्षतिपूर्तिका लागि सरकारले कुनै वास्ता नगरेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । बुधबार सुरुङमार्गको दहचोकस्थित प्रारम्भ केन्द्रमा जम्मा भएर स्थानीयले, सुरुङमार्ग निर्माणका क्रममा पड्काइएको विष्फोटक पदार्थका कारण क्षति पुगेका घरलाई क्ष्तिपूर्ति नदिएको, पानीका मुहानहरु सुकेको र पानीका व्यवस्था गर्ने प्रतिवद्धता जनाएपनि कार्यान्वयन गरेको लगाएका विषय उठाउँदै उनीहरु विरोधमा उत्रिएका हुन् ।

पीडित समिति नै गठन गरेर आन्दोलन थालेका उनीहरुले आफ्ना माग पुरा नभए सुरुङ निर्माणको काम नै रोक्ने चेतावनी दिएका छन् ।स्थानीय, रबी दानीले, आफूहरुलाई माग सम्बोधन गर्ने आश्वासन दिने तर कार्यान्वयन नगर्ने गरेकोले आन्दोलनमा उत्रिनु परेको उनले बताए । उनले भने ‘क्षतिपूर्ति, एक घर एक धारा नदिएसम्म काम हुन दिदैनौं । ’

सुरुङ मार्ग पीडित समिति अध्यक्ष तारा बहादुर खत्रिले, सुरुङ निर्माण आफूहरुका लागि खुसीको कुरा भएको भन्दै निर्माणका क्रममा क्षतिपुगेका स्थानीयले न्याय पाउनु पर्ने बताए । आफूहरुले मन्त्रीको समेत ध्यानाकर्षण गराएपनि समस्या समाधान नभएको भन्दै उनले अब कुनै पनि हालतमा माग पुरा हुनुपर्ने अडान राखे । सुरुङ मार्ग निर्माणका क्रममा भएको ब्लाष्टिङका कारण त्यस वरपरका घरमा क्षति पुगेको भन्दै सरकारले तत्काल क्षतिपूर्ति दिनुपर्ने स्थानीयको माग छ ।

डिपिआर पास गर्दा नै स्थानीयका समस्यालाई वेवास्ता गरिएको स्थानीय प्रकाश रेग्मीको आरोप छ । उनले भने ‘बच्चालाई ललिपप देखाए जस्तो झुक्याइएको छ । स्थानीयलाई पीडा दिइएको छ । ’

यसअघि हिजो मात्रै भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले सो सुरुङ मार्गको निरीक्षण गरेका थिए ।जोखिममा भएका घरहरूलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने पनि उनको भनाइ छ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  २ : २१ बजे