अष्ट्रेलियामा पृथ्वी जयन्तीका दिन अन्तर्राष्ट्रिय नेपाली दिवस



काठमाडौं । आधुनिक नेपालका एकीकरणकर्ता पृथ्वीनारायण शाहको सम्झनामा अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाउने भएका छन् । हरेक वर्ष अष्ट्रेलियाका नेपालीले पुष २७ लाई नेपाली दिवसको रुपमा मनाउने गर्दछन् । पृथ्वनारायण शाहको एकीकरण अभियानकै कारण विश्वमा नेपाली पहिचान बनेको र विश्वमा नेपाली भनेर चिनिन पाएका कारण पृथ्वी जयन्तीका दिनलाई ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’का रूपमा मनाउने गरेको राष्ट्रिय समारोह आयोजक समितिका मदनमणि अधिकारीले बताए ।

पृथ्वी जयन्ती ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’का आयोजक समितिका सदस्य युवा अभियन्ता दीपक पौडेलले पृथ्वीनारायण शाहको सम्बन्धमा गलत कथा बुन्ने र स्थापित गर्ने प्रयास गरिनु घृणित कार्य भएको बताए ।

नेपाल एकीकरण र नेपाली राष्ट्रियताको मियोका रूपमा पृथ्वीनारायण शाहलाई लिनुपर्ने र उनको एकता अभियानको निरन्तरता एवं नेपाली पहिचानको गौरवपूर्ण स्विकारलाई साक्षात्कार गर्ने अवसरका रूपमा संसारभर छरिएका नेपालीले लिनुपर्ने उनको भनाई छ । ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’को स्वरूपमा पृथ्वी जयन्तीलाई यस वर्ष पनि गौरव, श्रद्धा र नेपाली एकताको सन्देश दिनका लागि दिवस मनाउन लागिएको उनले बताए ।

शुक्रबार नेपाली भएकोमा गर्व गर्ने अष्ट्रेलियामा बस्ने नेपालीहरूले विभिन्न कार्यक्रमका साथ पृथ्वी नारायण शाहको सम्झना गर्ने कार्यक्रम तय भएको आयोजक समितिका अधिकारीले बताए ।

अष्ट्रेलियाको सिड्नीस्थित नेपालीहरूको घना बसोबास भएको ओबनमा विशेष समारोह हुन लागेको हो । क्यानबेरा, मेलबर्न, एडिलेड, पर्थ, तासमानिया र डार्बिनमा पनि पृथ्वी जयन्तीको उपलक्ष्यमा कार्यक्रम आयोजना गर्ने तयारी छ । सिड्नीमा आयोजना हुने कार्यक्रम ओबन पार्कमा हुन लागेको छ । विहान ११ बजे देखि दिनभर नै ओबनमा विभिन्न प्रस्तुती र माल्यार्पणको कार्यक्रम छ ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ११ : ३४ बजे