काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शुक्रबारदेखि केन्द्रीय कार्यालयको ब्लक ‘क’ (उत्तरतर्फको भवन) को भुइँ तलाबाट एकल सेवा केन्द्रबाट एकद्वार सेवा प्रवाह सुरु गरेको छ ।महानगरपालिकाभित्र जुनसुकै सेवा लिनपनि केन्द्रमा आएर टोकन लिनुपर्ने, प्रक्रिया, कागजपत्र, सेवा लिने ठाउँ, समयजस्ता विषयमा जानकारी लिएपछि सेवा प्राप्त हुने व्यवस्था भएकोले एकद्वार भनिएको हो ।
निजामती सेवा दिवसको अवसर पारेर शुभारम्भ गरिएको केन्द्रमा वडा नं. ५ बाट विपन्न नागरिक शिफारिस लिन आएका सुरेश प्रजापती र राजस्वका दररेट सम्बन्धी जानकारी लिन वडा नं. ३२ बाट आएका समिर नेपाललाई टोकन प्रदान गर्दै सेवा सुरु गरिएको थियो ।
उनीहरुले टोकन प्राप्त गरेको ४५ मिनेटमा सेवा लिएका थिए । दिवसका अवसरमा पारेर आयोजना हुने कार्यक्रम परम्परागत ढाँचाका हुने अभ्यासलाई चिर्दै महानगरपालिकाले सेवा शुभारम्भ गरेको हो ।
त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले सेवाग्राहीलाई टोकन लिने विधि सिकाउँदै सेवाका बारेमा जानकारी गराएका थिए । यस्तै प्रवक्ता एवं सूचना प्रविधि समितिका संयोजक नविन मानन्धरले, केन्द्रका पहिलो सेवाग्राहीलाई पुष्पगुच्छा दिएर स्वागत गरेका थिए ।