काठमाडौं, २५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेशस्तरीय कार्यक्रमका लागि पोखरा पुगेका रास्वपा सभापति रवि लामिछानेविरुद्द सूर्यदर्शन सहकारी संस्थाका पीडित वचतकर्ताहरुले प्रदर्शन गरेका छन् । लामिछानेसमेत सहभागी उक्त कार्यक्रम परिसर बाहिर सहकारी पीडितहरुले चर्को प्रदर्शन गरेका हुन् ।
सोमबार रास्वपाको प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न आएका लामिछानेलाई कार्यक्रमस्थल विरौटास्थित ग्यालेक्सी बैंक्वेटमा प्रहरीले स्कर्टिङ गर्दै लग्यो । त्यहाँ प्रवेश हुनुअघि लामिछानेले पीडितहरुले कालो झन्डा देखाए भने सहकारी ठग’सहितका नाराबाजी गरे ।
सहकारी पीडितहरुले प्रदर्शन गरेपछि रास्वपा सभापति लामिछानेले कसैले उचालिदिएको भरमा आफूविरुद्ध प्रदर्शन भएको बताए । उनले सहकारी पीडितहरुलाई भने, ‘गलत मान्छेलाई टार्गेट गरेर तपाईँहरु अपराध गर्दै हुनुहुन्छ ।’
सभापति लामिछानेले सहकारी पीडितहरुले अपराधमा संलग्न नरहेको मान्छेविरुद्ध कसैले उक्साएको भरमा विरोध गरेको बताए । रास्वपामाथि राजनीतिक पूर्वाग्रह राख्नेहरुले सहकारी भनेको रवि लामिछाने हो भन्ने भाष्य निर्माण गरिदिएको उनको आरोप छ ।
गोर्खा मिडियामा कार्यरत रहँदा कसरी रकम आएको छ भन्ने कुरा आफूलाई केही थाहा नभएको उनले बताए । लामिछानेले आफू गोर्खा मिडियाको लगानीकर्ता र एकाउन्टेन्ट नभएर तत्कालीन समयमा सञ्चारकर्मीको भूमिका निर्वाह गरेको बताए ।