काठमाडौँ । अविरल वर्षासँगै पहिरो झर्दा काठमाडौँ उपत्यकामा प्रवेश गर्ने मुख्य राजमार्गमा अवरोध भएको छ।
धादिङको नौबिसेमा सुरुङमार्ग प्रवेशद्वार नजिकै लेदोसहितको पहिरो खस्दा राजमार्ग अवरोध भएको हो। अहिले सडक दुईतर्फी अवरुद्ध छ।
पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ।
बाटो बन्द हुँदा सवारी साधनको लामो लाइन लागेको छ। यात्रुहरू रोकिएका छन्।
अत्यधिक वर्षाले पहिरो झरेर क्षति पुग्न सक्ने भएकाले असोज ११–१२ गते दुई दिन रात्रि बस नचलाउन सरकारले अनुरोध गरेको छ।
जल तथा मौसम विज्ञान विभागले ५६ जिल्ला उच्च जोखिमको सूचीमा रहेको भन्दै सावधानी अपनाउन भनेको थियो।
विभागका अनुसार आइतबारसम्म वर्षा हुने सम्भावना छ।