देशभर बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २०४ पुग्यो



काठमाडौँ । केही दिनअघि मुलुकभर परेको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौँ उपत्यका र बागमती प्रदेशमा सबैभन्दा बढी जनधनको क्षति भएको छ।

सोमबार अपराह्नसम्मको विवरणअनुसार विपदबाट काठमाडौँ उपत्यकामा मात्रै ८२ जना र उपत्यकाबाहेक बागमती प्रदेशमा ९४ जनाको मृत्यु भएको छ।

सशस्त्र प्रहरी बल नेपालको तथ्याङ्कानुसार काठमाडौँ जिल्लामा ५२, ललितपुरमा २५ र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ।

बाढीपहिराका घटनामा परी काठमाडौँमा दुई, भक्तपुरमा एक र ललितपुरमा १२ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी जारी छ। विपद्का घटनाबाट काठमाडौँमा १५ र ललितपुरमा दुई जना घाइते भएका छन्।

बागमती प्रदेशका काभ्रेपलाञ्चोकमा ५९, सिन्धुपाल्चोकमा १३, मकवानपुर र दोलखामा सातरसात, धादिङमा चार, सिन्धुलीमा दुई तथा नुवाकोट र रामेछापमा एक÷एक जनाको मृत्यु भएको छ।

काभ्रेपलाञ्चोकमा चार र सिन्धुपाल्चोकमा एक जना बेपत्ता भएका छन्। काभ्रेपलाञ्चोकमा ५२, सिन्धुपाल्चोकमा चार र मकवानपुरमा एक जना घाइते भएका छन्।

काभ्रेपलाञ्चोकमा सबैभन्दा बढी एक हजार घरमा क्षति पुगेको छ।

यस्तै सिन्धुपाल्चोकमा १६ र सिन्धुलीमा पाँच घर क्षतिग्रस्त भएको छ। कोशीको पाँचथरमा छ, सोलुखुम्बुमा पाँच, धनकुटा र झापामा तीन÷तीन, सुनसरी र इलाममा दुईरदुई, तेह्रथुम र ओखलढुङ्गामा एकरएक, मधेसको महोत्तरीमा दुई र रौतहटमा एक तथा लुम्बिनीको रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ।

विपद्का घटनामा परी मृत्यु हुनेको संख्या देशभरमा २०४ पुगेको छ। ८९ जना घाइते भएका छन्। अझै ३३ जना बेपत्ता छन्।

कोशीमा २३, मधेसमा तीन, काठमाडौँ उपत्यकामा ८२, काठमाडौँ उपत्यका बाहेकको बागमतीमा प्रदेशमा ९४ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो।

बाढीपहिराबाट मुलुकभर एक हजार सात सय ८३ घर र १९ वटा पुलमा क्षति पुगेको छ। पाँचथर, सुनसरी र सिन्धुपाल्चोकमा तीन बेलिब्रिज बाढीले बगाएको छ।

यस्तै विभिन्न जिल्लामा पाँचवटा पक्की पुल सात वटा झोलुङ्गे र अन्य किसिमका चार गरी १९ वटा पुल र उदयपुरको एउटा रिसोर्ट बाढीले बगाएको छ। विपद् प्रभावित तीन हजार चार सय एक जनाको हालसम्म उद्धार गरिएको तथ्याङ्कमा उल्लेख छ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ७ : १३ बजे