काठमाडौं । नेपाल न्यूज बैंकका समाचार सम्पादक तथा सफल पत्रकार युवराज गौतम ‘नेसनल जर्नालिजम एक्सिलेन्स अवार्ड–२०२४’ बाट सम्मानित भएका छन् ।
मंगलबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल युवा परिषद्ले पत्रकारिता क्षेत्रमा पु¥याएको अतुलनिय योगदानको कदर गर्दै गौतमलाई नेसनल जर्नालिजम एक्सिलेन्स अवार्ड–२०२४’ बाट सम्मान गरेको हो ।
उपसभामुख इन्दिरा राना मगरले उनलाई उक्त अवार्ड प्रदान गरेकी हुन् ।
पूर्वी नेपालको इलाममा जन्मिएर २०६० सालमा स्थानीय पावन भूमि साप्ताहिकको वितरक हुँदै पत्रकारिता शुरु गरेका गौतमले दार्जिलिङ र इलामबाट स्पेसटाइम दैनिक र च्यानल नेपालको रिर्पोटर, कान्तिपुरको साप्ताहिकमा संवाददाता, भावी नेपाल साप्ताहिकको उपसम्पादक, इमेज च्यानलमा डेक्स सम्पादक हुँदैं अर्थबजार डटकमको सम्पादकको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
गौतम हाल नेपालकै लोकप्रिय समाचार एजेन्सी नेपाल न्यूज बैंकको समाचार सम्पादकको भूमिकामा छन् ।
गौतमसँगै एभरेष्ट व्रेभ अवार्डबाट सर्वोच्च शिखरमा पाइला टेकेकी कल्पना महर्जन, ह्युमनिटेरियन एक्सिलेन्स अवार्डबाट डा.सुवास प्याकुरेल र सस्टनेबल कन्जरभेसन एक्सिलेन्स अवार्डबाट रैनाथे खानाका प्रबद्र्धक तिलक ढकाल सम्मानित भए ।
कार्यक्रममा नेपाल युवा परिषद्का अध्यक्ष सरोज बाँनियाले नीति निर्माण तहमा युवाहरुको उपस्थिति न्यून भएकाले धेरै मुद्दाहरु ओझेल परेको बताए । उनले राज्यले युवामा लगानी गर्न र आगामी बर्षदेखि राष्ट्रिय युवा बर्ष मनाउने व्यवस्था गर्न सरकारसँग माग गरे ।