चिनियाँ जहाज नेपाल वायुसेवा निगम लाइ घाडो



नेपाल वायुसेवा निगमले चीनसँग खरिद गरेका सबै जहाज बेकामे भएका छन् । ती जहाजमा यात्रुहरु चढ्दैनन् । यात्रु नचढेपछि जहाज पनि उड्दैन । घाम तापेरै अर्बौंको साधन बेकामे बनिरहेका छन् । जहाज सञ्चालनमा नआउँदा निगमलाई दैनिक लाखौ नोक्सान भइरहेको छ । तर पनि जहाज सञ्चालनका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको ध्यान जान सकेको थिएन । चिनियाँ जहाज विश्वसनीय छैनन् भन्ने पहिले नै थाहा भएको थियो । तर निगमका भ्रष्ट कर्मचारीदेखि नेताहरुले समेत संसारका विभिन्न मुलुकमा चिनियाँ जहाज चलिरहेको भन्दै नेपालमा ल्याइएको थियो ।
नेपाल वायु सेवा निगमले भित्र्याएका ४ वटा चिनियाँ जहाज वाई–१२ यतिबेला उडान नै नभरी त्रिभुवन विमानस्थलमै थन्केका छन् । आन्तरिक उडान भर्नुपर्नेे यी ४ वटै जहाज  एक महिनादेखि विमानस्थलमै थन्किँदा निगमलाई ठूलो आर्थिक क्षति पुगिरहेको छ ।
एउटा मात्रै होइन, ४÷४ वटा विमानहरु यतिका दिनसम्म नउडाई थन्क्याएर राखिनुले नेपाल वायु सेवा निगमका हाकिमहरुको व्यवस्थापकीय क्षमतामाथि नै गम्भीर प्रश्न उठाइदिएको छ ।
जहाज उडाउने पाइलट नपाएको भन्दै निगमले चीनबाटै पाइलट ल्याउने तयारी थालिएको बताएको छ । निगमका प्रवक्ता रबिन्द्र श्रेष्ठले चिनियाँ पाइलटहरुसँग अहिले तलबका बारेमा छलफल भइरहेको बताए ।  ‘पाइलटको तलबका विषयमा अहिलेसम्म कुरा मिलेको छैन, जसका कारण चिनियाँ पाइलट ल्याउन नसकेका हौं,’ श्रेष्ठले भने ।
तर, चिनियाँ पाइलट ल्याउन पनि निगमलाई त्यति सहज भने छैन । अंग्रेजी भाषा राम्रो भएका पाइलटहरु निगमलाई आवश्यक छ । चिनियाँ पाइलटहरु अंग्रेजी बुझ्दैनन । आन्तरिक उडान गर्ने चिनियाँहरुको सम्वाद चिनियाँमै हुन्छ । अंग्रेजी भाषामा समेत पोख्त भएका चिनियाँ पाइलट पाउन मुस्किल हुन्छ ।
‘अहिले चिनियाँ जहाज उडाउन सक्ने पाइलट हामीसँग एकजना मात्रै हुनुहुन्छ, उहाँपनि बिरामी भएपछि एक हप्तादेखि ४ चिनियाँ जहाज नउडी बसेका छन,’ प्रवक्ता श्रेष्ठले भने । यसअघि पोखरा, भरतपुर र सिमरामा उडान गर्दै आएका वाई १२ एक साता यतादेखि पाइलट अभावका कारण उडान नगरी बसेका छन् ।
हालैमात्रै थप भएका वाई–१२ का लागि पाइलट नै नभएको निगमका अधिकारीहरु बताउँछन् । फागुनको पहिलो साता त्रिभुवन विमानस्थल आइपुगेका यी दुई जहाजलाई निगमले अहिलेसम्म उडाउन सकेको छैन । अर्थात हालसम्म यी विमानले निगमलाई एक रुपैयाँको पनि व्यापार दिन सकेका छैनन् । उल्टो नोक्सान गरिरहेका छन् । चीनले चार वटा जहाज किन्दा दुइ अनुदानमा दिने भनेर फुर्केर लिइएको यि विमानबाट अहिले निगम डुब्ने अवस्थामा पुगेको छ ।
दुईवटा चिनियाँ जहाजलाई नै पाइलट अभाव भएकै बेलामा निगमले कुनै व्यवस्थापन नै नगरी थप दुईवटा जहाज ल्याएको थियो । ०६९ सालमा नेपाल र चीनबीच सरकारीस्तरमा भएको सम्झौताअनुसार चीनबाट ६ वटा जहाज ल्याइएको हो । जुन निगमका लागि घाँडो मात्रै भएका छैनन् । दिनहुँ लाखौं रुपैयाँ कमाउनुपर्ने जहाजलाई थन्क्याएर राखिँदा निगमलाई ठूलो घाटा भइरहेको छ ।
चिनियाँ जहाजको बीमा शुल्कसमेत अन्यको तुलनामा बढी तिर्नुपर्छ । जसले गर्दा चिनियाँ जहाजका कारण निगमले आर्थिक नोक्सानी खेप्नु परेको छ । यी ४ वाइ १२ जहाज बाहेक २ वटा एम ए ६० जहाज भने उडिरहेको श्रेष्ठ बताउँछन् । तर यी जहाज पनि बेलाबेलामा बिग्रने र लामो समय पार्टपूर्जा नपाउँदा थन्केर बस्ने गरेका छन् ।
यी ६ वटै जहाजका पार्टपूर्जाहरु चीनबाट नै मगाउनुपर्ने हुन्छ । यसका लागि लामो समय लाग्ने गरेको छ । पार्टपूर्जा नपाएका कारण निगमका यि चिनीयाँ जहाज दुई महिनासम्म ग्राउन्डेड गर्नुपर्ने अवस्था थियो ।
६ वटामध्ये एउटा एमए – ६० र एक वाई –१२ जहाज चिनियाँ अनुदानका हुन् । दुवै जहाज सन् २०१४ मै ल्याइसकिएको थियो । त्यसपछि थप भएको ३ वटा वाई १२ र एउटा एम ए ६० सहुलियत पूर्ण ऋणमा खरिद भएका जहाज हुन् । एभिएसन इन्डस्ट्री कर्पोरेसन अफ चाइना (एभिक) द्वारा उत्पादित एमए – ६० को सिट क्षमता ५६ हो । हर्बिन एयरक्राफ्ट इन्डस्ट्रीको उत्पादन वाई– १२ को क्षमता भने १९ सिटको छ ।
यसैवीच पर्यटन मन्त्रालय स्रोतले भने निगमका अधिकारीहरुको लापरवाहीका कारण चिनियाँ विमानहरु थन्किएको आरोप लगाएको छ । यसैवीच पर्यटन सचिव कृष्ण देवकोटाले निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारलाई विमानहरु थन्किुनको कारण पेश गर्न भनेका छन् ।
नेपाली पाइलटहरु काम नपाएर थन्किइरहेका र पाइलट छैन भन्दै विमानहरु ग्राउन्डेड भइरहेको भन्दै सचिव देवकोटाले कंशासकारसँग यसो हुनुको कारण मागेका छन

प्रकाशित मिति : ७ चैत्र २०७४, बुधबार  ५ : ४२ बजे