मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुरु भयो सेतो मच्छिन्द्रनाथको जात्रा



काठमाडौं । वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथारोहणसंगै रथयात्रा शुरु भएकाे छ ।

काठमाडौंमा प्रत्येक वर्ष चैत शुक्ल अष्टमीका दिन मनाइने यो जात्रामा  आर्याअवलोकितेश्वरको मूर्तिलाई रथमा राखेर नगर परिक्रमा गराइन्छ ।

काठमाडौं उपत्यकाका बृद्धबृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गरिन्छ । करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट खटमा राखेर  जमलमा बनाइएको रथमा राखिएपछि नगर परिक्रमा गर्ने प्रचलन छ ।

आइतबार अपरान्ह मच्छिन्द्रनाथलाई जनबहालबाट खटमा राखेर जमलमा रहेको ३२ हात अग्लो रथमा रथारोहण गर ाइन्छ ।रथारोहणसँगै  मच्छिन्द्रनाथको रथलाई आइतबार काठमाडौको तीनधारा   पाठशाला जमलबाट असन पुर्‍याइन्छ  ।

एकसातासम्म हुने यो रथजात्रा असनबाट हनुमानढोका, कालभैरब, लगन सम्म लगिन्छ ।
जात्राको अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ ।

राष्ट्रपतिले मच्छिन्द्रनाथको दर्शन गने परम्परा अनुसार विद्यादेवी भण्डारीले असनमा पुग्ने कार्यक्रम छ  । किम्बदन्ती अनुसार परापूर्व कालमा जमल क्षेत्रको खेतमा एक जना ज्यापुले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए ।

यो मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाइराख्दा त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता मानेर जनबहालमा स्थापना गरिएको किम्वदन्ती छ ।

यही परम्परा अनुसार हालपनि मूर्ति फेला परेकै स्थान जमलमै रथ बनाउने चलन छ । काठमाण्डौ उपत्यकामा जमल, नालाको बनेपामा  सेतो, र ललितपुरको बुङमति र चोभारको रातोसहित चार वटा मच्छिन्द्रनाथ छन् ।

सेतो मच्छिन्द्रनाथलाई बज्रयानी तथा महायानी बौद्ध धर्मावलम्बीहरुले जनबहाःद्यो, आर्यावलोकितेश्वर तथा करुणामय, शैव तथा नाथ सम्प्रदायले भगवान शिव र शाक्त सम्प्रदायले शक्ति स्वरुपाको रुपमा पुज्ने गर्दछन् ।

सेतो मच्छिन्द्रनाथको महास्नान र रथजात्रा अष्टमीकै दिन गर्नुपर्ने मान्यता छ, भने अन्य तीन मच्छिन्द्रनाथको महास्नान र रथजात्रा भने प्रतिपदाका दिन गर्ने परम्परा छ ।

सेतो मच्छिन्द्रनाथको महास्नान गएको पौष शुक्ल अष्टमीका दिन गरिएको थियो ।ललितपुरको रातो मच्छिन्द्रनाथको महास्नान भने आउने १८ गते चैत्र कृष्ण प्रतिपदाका दिन हुनेछ ।

प्रकाशित मिति : ११ चैत्र २०७४, आइतबार  १२ : ५३ बजे