धनुषा चैत, १२–
एसईई अन्तरगत आज सञ्चालन भएको गणित विषयको प्रश्नपत्र परिक्षा अगाबै बाहिरिएको छ । धनुषाको फकिरचन्द जनता माध्यमिक विद्यालय बरकुर्वाबाट एसईई गणित विषयको प्रश्नपत्र बाहिरिएको हो । धनुषाका जिल्ला शिक्षा अधिकारी यमबहादुर खड्काले प्रश्नपत्र आउट भएको जानकारीमा आएको र छानविन भैरहेको बताए ।
एसईई परीक्षाको तेस्रो दिन गणित विषयको परीक्षा भइरहेकोमा परीक्षा सुरु भएको केहीबेरमै ह्वाट्सयपबाट प्रश्नपत्र आउट भएको सार्वजनिक भएको थियो ।
तर, केन्द्राध्यक्ष बैजु साहले प्रश्नपत्र आउट भएको बारे अस्वीकार गरेका छन् । परीक्षा सुरु भएको केहीबेरमै परीक्षा केन्द्रबाट मोबाइल फोन गरी प्रश्नपत्र आउट भएको थियो ।
जिल्ला शिक्षा अधिकारी खड्काको अनुसार परीक्षा केन्द्रमा केन्द्राध्यक्ष बाहेक भित्र गार्डहरुलाई समेत फोन प्रयोग गर्न नदिएको भन्दै सहायक शिक्षा अधिकारी मेहिलाल यादवको टोलीलाई परीक्षा केन्द्रमा छानविनको लागि पठाइएको जानकारी दिए । अहिले टोली परीक्षा केन्द्र पुगेको र फर्किएपछि थप कुरा बाहिर आउने उनको भनाई छ ।