सुधार आएन खड्काको स्वास्थ्यमा, पार्टी प्रतिनिधि दिल्लीमा



उपचारका लागि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पताल लगिएका पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काको स्वास्थ्यमा सुधार नआएको नेपालस्थीत एपोलो सुचना केन्द्रले जानकारि दीएको छ । गत फागुन ६ मा उपचारका लागि खडकालाइ दिल्ली लगिएको थियो ।  खड्काको छातीमा गम्भीर संक्रमण देखिएपछि एक सातादेखि भेन्टिलेटरमा राखेर उपचार गरिए पनि सुधार नआएपछि मिर्गौला प्रत्यारोपणसम्बन्धी शल्यचिकित्सक थपेको नेपालस्थित एपोलो सूचना केन्द्रका इन्चार्ज अर्जुनबहादुर चन्दले जानकारी दिए ।

यसअघि खड्काको मिर्गौला प्रत्यारोपण गरेका डा. सन्दीप गुलरियालाई उपचार टिममा थपिएको हो । यसअघि खड्कालाई नसारोग विशेषज्ञ डा. मुकुल बर्मा, छातीरोग विशेषज्ञद्वय डा. राजेशकुमार चावला र डा. सुधा कन्सल तथा मिर्गौलारोग विशेषज्ञ डा. जयन्तकुमार होताको टोलीले उपचार गरिरहेको थियो ।

नेपालस्थित सूचना केन्द्रका प्रमुख चन्दले उपचारमा संलग्न डक्टरहरूको भनाइ उद्धृत गर्दै खड्काको अहिलेसम्म भेन्टिलेटरमै राखेर उपचार भइरहेको र अवस्थामा कुनै सुधार नआएको जानकारी दिए ।

उनको दायाँ खुट्टा चल्न छोडेको र शरीर सुन्निएको जनाइएको छ । मिर्गौलामा रहेको पुरानो समस्या बल्झिएको प्रमुख चन्दले बताए । ४ फागुनमा सानेपास्थित निवासको बाथरुममा लडेर छाती र मिर्गौलामा समस्या देखिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिन मंगलबार कांग्रेस केन्द्रीय सदस्यद्वय शंकर भण्डारी र रमेश लेखक नयाँदिल्लीस्थित एपोलो अस्पताल गएका छन् । कांग्रेस केन्द्रीय समितिको सोमबारको बैठकले खड्काको स्वास्थ्य अवस्था बुझ्न उनीहरूलाई पठाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार  ८ : ४० बजे