मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शौचालय जाँदा बलात्कृत हुन्छन् युवती, ‘ठालू’ले गाउँमै मिलाउँछन् घटना



२६ फागुन, महोत्तरी । फागुन २१ गते, सोमबार राति । महोत्तरीकी साइरुन (नाम परिवर्तन) शौचालय जान घर बाहिर निस्किन् ।

शौचालय जान निस्केकी उनलाई ६ जनाको समूहमा रहेका युवाहरुले झ्यापझुप समाते । २२ वर्षीय साइरुनलाई खेतमा पुर्‍याएर जवस्तस्तीकरणी प्रयास गरे । धन्न उनी करणी हुनबाट बचिन् ।

आफूलाई जवरजस्ती करणी प्रयास गरेको भन्दै ती युवतीले प्रहरीमा उजुरी दिइन् । प्रहरीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन नै पक्राउ गरी शुक्रबार सार्वजनिक गर्‍यो ।

जवरजस्तीकरणीको प्रयास गर्ने भंगहा नगरपालिका ६ हतिसर्वा घर भएका १९ वर्षे सुभाष विश्वकर्मा, २२ वर्षिय सचिन राय थारु, प्रदिप सिंह थारु र २६ वर्षे गोविन्दकुमार रायलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरेको हो ।

पीडितले दिएको उजुरीका आधारमा उनीहरुलाई बिहीबार नै पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएका महोत्तरीका एसपी कुँवेर कडायतले जानकारी दिए ।

घटनामा संलग्न दुई जना भने अझै फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारैजनामाथि जबरजस्तीकरणी उद्योग अन्तर्गत मुद्धा चलाइएको प्रहरी उपरीक्षक कडायतले बताए । घटनाबारे थप अनुसन्धान भइरहेकोे उनले बताए ।

माघ महिनामै तीन वटा बलात्कारका घटना

माघ ४ गते । समय साँझ ५ः३० । बाख्राका लागि घाँस काट्न गएका बेला दुईजना किशोरी सामुहिक बलात्कृत भए ।

बलात्कार गर्ने एकजना पक्राउ परेका छन् भने थप तीनजना आरोपी फरार छन् । सोन्मा गाउँपालिका -२ का मनोज साह रहेका छन् ।

फरार रहेका उपेन्द्र सदा मुसहर, अरुण महतो नुनिया, ओजीर मिया लगायतका आरोपीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
मनोज साह फागुन ३ गते पुर्पक्षको लागि थुना छन् ।

घटना मिलाउन गरिएको चलखेल गरिएपनि प्रहरीले मुद्धा चलायो । घटना गाउँमै सहमति गराउन ठूलो चलखेल भएपनि अाफूहरूले मुद्दा चलाएको प्रहरीको दावी छ ।

प्रहरी उपरीक्षक प्रकाश श्रेष्ठ, प्रहरी निरीक्षक केदार वस्नेत र मुद्दा शाखाका प्रहरी नायव निरीक्षक सुखाडी साह समेतले जघन्य अपराध मिलाउन नदिने भन्दै मुद्धा चलाएका थिए ।

माघ १० गते । साँझ ४ बजे । गौशाला नगरपालिकामा एक युवतीमाथि बलात्कार प्रयास भयो ।

युवतीले प्रतिबाद गर्न खोज्दा उनको हातनै भाँचिदिए । जवरजस्तीकरणी प्रयास गर्ने विपिन राईलाई प्रहरीले पक्राउ गरी थप अनुसनधान गरिरहेको जनाएको छ ।

पिसाव गर्न जाँदा बलात्कार प्रयास

माघ २१, राति साढे ९ बजे । भंगहा नगरपालिमा २२ वर्षीया युवती पिशाव फेर्न सडकमा निस्किइन् ।

सडकमा निस्कनासाथ मादक पदार्थ सेवन गरेका युवाहरुले उनलाई हातपात गरे । जवरजस्तीकरणी प्रयास गरे । तर, नशामा लठ्ठिएकाहरुबाट जसोजतसो उनी फुत्किइन् ।

पीडित युवतीले प्रहरीमा उजुरी दिएपछि दुई जना युवा पक्राउ परेका छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यी त प्रतिनिधि घटनाहरु मात्रै हुन् । महोत्तरीमा दैनिक कुनै न कुनै स्थानमा महिला बलात्कृत हुने गरेको र स्थानीय राजनीति दल र स्थानीय ‘ठालू’हरुले नै मिलाउने गरेका छन् ।

महोत्तरीमा चालु आर्थिक वर्षको पुस मसान्तसम्म २ बलात्कार, एक अप्राकृतिक मैथुन र दुई बलात्कारका प्रयास भएको प्रहरीको तथ्यांक छ ।
गत आर्थिक वर्षमा ८ जना बलात्कृत भए र ५ जनालाई बलात्कार प्रयास भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार  ४ : ३० बजे