मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले कटौती गर्दै सार्वजनिक बिदा, १०५ बाट ८४ मा झार्न प्रस्ताव



गृह मन्त्रालयले सार्वजनिक बिदा कटौती गर्न प्रस्ताव गरेको छ । धेरै दिन बिदा हुँदा सार्वजनिक सेवा प्रवाहमा असर परेको विश्लेषण गर्दे गृहले हालै दिइँदै आएको बिदामा २१ दिन कटौती गर्ने प्रस्ताव गरेको समाचार अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ ।

समाचार अनुसार, सरकारले विभिन्न चाडपर्व, दिवस र शनिबार गरी १ सय ५ दिनसम्म सार्वजनिक बिदा दिँदै आएको छ । गृहले अब यो बिदामा २१ दिन कटौती गर्दै आगामी वर्षदेखि ८४ दिन मात्रै बिदा हुने गरी सरकारसमक्ष प्रस्ताव लैलाने तयारी गरेको छ ।

सरकारले बिदा दिने प्रवृत्तिलाई हल्का बनाएको र जस्तासुकै चाडको अवसरमा पनि सार्वजनिक बिदा दिने प्रचलन बढाएकाले सेवा प्रवाहमा गम्भीर असर परेको गुनासो अत्यधिक आउन थालेपछि गृहले बिदा कटौती गर्ने गृहकार्य गरेको हो ।

पहुँचका भरमा शान्ति मिसन
अन्नपूर्णमै प्रहरीले पहुँचका भरमा शान्ति मिसनमा पठाउने प्रहरी छनोट गरेको समाचार लेखेको छ ।

अन्नपूर्णका अनुसार, प्रहरी प्रधान कार्यालयले पहुँचका भरमा २२ जना प्रहरीलाई छनोट गरी संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (हाइटी र डार्फर) पठाउने तयारी गरेको छ । मुख्यालयको छनोटबाट मिसन जान पाउने भाग्यमानीमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीका अंगरक्षकदेखि प्रहरी महानिरीक्षक प्रकाश अर्यालका भान्छेसम्म छन् ।

कार्यक्षमता र दक्षताका आधारमा मिसनमा जाने प्रहरी छनोट गर्नुपर्ने हो तर प्रधान कार्यालयको निर्णयले ज्यान जोखिममा राखेर काम गर्ने प्रहरी कर्मचारीको मनोबलमा असर पुगेको एक जना प्रहरीले दुखेसो गरे ।

हाम्रै नेपालमा– बच्चा बढी जन्माउनेलाई भत्ता !
मुलुकको अधिकांश भागमा गरिबी र भोकमरीका कारकका रुपमा ठूलो परिवार र रोजगारको अवसर कम हुनुलाई लिइन्छ । तर इलाम नगरपालिकाले भने अन्य नगरपालिकाभन्दा पृथक रणनीति तय गरेको छ ।

राजधानी दैनिक लेख्छ– जनसंख्या वृद्धिदर घटेको भन्दै नगरपालिकाले जति बढी सन्तान जन्मायो उति नै बढी भत्ता दिने निर्णय गरेको छ ।

बसाइँ सराइ, व्यस्त जीवनशैली र सुविधाभोगी चरित्रका कारण जनसंख्या वृद्धिद्धर घटेको निष्कर्षसहित नगरपालिकाले धेरै बच्चा जन्माउन प्रोत्साहन गर्ने रणनीति अघि सारेको हो ।

नगरपालिकाले विगतमा सुत्केरीलाई दिने पोषण सुविधालाई परिवर्तन गर्दै आगामी १ चैतबाट लागू हुने गरी सुत्केरी सेवामा वृद्धि गरेको समाचारमा उल्लेख छ । नगरपालिकाले दुईवटासम्म बच्चा हुनेलाई २ हजार, ३ वटा बच्चा हुनेलाई ३ हजार, पाँचवटा र सोभन्दा बढी बच्चा हुनेलाई ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ ।

नगरपालिकाको शुक्रबार बसेको बैठकले प्रत्येक बच्चा जन्मिँदा सुत्केरी महिलाका पतिलाई १५ दिन बिदा दिने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार  ५ : ०८ बजे