मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइजिपी नियुक्तीप्रति असहमत हुदै डीआईजी रमेश खरेलले दिए राजीनामा



काठमाडौं ।  २९ बर्ष प्रहरीमा सेवा गरेका डीआईजी रमेश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार कार्यविभागको प्रशासन शाखामा राजीनामाको पत्र बुझाएका हुन् ।

मंगलवार सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलले राजीनामा दिने घोषणा गरेका थिए । बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी खनाललाई आईजीपीमा बढुवा गरेको थियो।  प्रहरीको आईजीपी मूख्य तीन दाबेदारमा खनालसँगै रमेश खरेल र पुष्कर कार्की समेत थिए। डीआईजी बढुवा हुँदाको कार्यसम्पादन मूल्याङ्कनमा खनाल पहिलो, खरेल दोस्रो र कार्की तेस्रो नम्बरमा थिए। खनालले ८४ दशमलव ४७३४ अंक प्राप्त गरेका थिए।

 

 

त्यस्तै खरेल र खनालले क्रमश ८३ दशमलव ८५१० र ७८ दशमलव २३११ अंक पाएका थिए। यो पल्ट पनि अघिल्लो पल्ट जस्तै एआईजीहरुबाट आईजीपी छान्न पाइएन। डीआईजीबाटै आईजी छान्नु पर्ने भएको हो ।डीआईजी बढुवा भएको ८ महिनापछि मात्रै नयाँ कार्यसम्पादन मूल्यांकन समेत तयार हुन सकेको थिएन। प्रहरी नियमावलीमा एक वर्षको कार्यसम्पादन मूल्यांकन गर्ने व्यवस्था छ। अन्तिम निर्णय गर्नुअघि विहान प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरुको राय लिएका थिए । पछि बालुवाटारमै साँझ गृहमन्त्री रामबहादुर थापा र आईजी बन्नेहरुलाई समेत बालुवाटार बोलाईएको थियो।

बहालवाला प्रहरी महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा अवधिका कारण बुधबारदेखि अवकाश पाउँदैछन्। खनाल अब नेपाल प्रहरीको २६औं महानिरीक्षक भएका छन्। सरकारले वरिष्ठताकै आधारलाई टेकेर सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाएको दावी गरिएको छ।

नेपाल प्रहरीको नियमावली २०७१ को नियम ४१ अनुसार आइजीपी नियुक्तीका लागि प्रस्ताव पेश गर्दा जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्ने सामर्थ्यको मूल्याङ्कन गर्नुपर्ने व्यवस्था छ। तर,  अघिल्लो पटक सर्वोच्च अदालत र प्रधानन्यायाधीश समेत विवादमा पर्ने गरी कार्यसम्पादन मूल्याङ्कनलाई मूख्य आधार बनाइएको थियो।

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार  ८ : २२ बजे