मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले निकट ब्यबसायि र मन्त्री गोकर्ण बिष्ट बिच बिबाद



काठमाडौं चैत, २८–
प्रचारमा अत्यन्तै रमाउने र मिडियामा सेलिब्रेटी बन्ने होडका कारण केही मन्त्रीले सरकारको समेत साख गिराउने खतरा बढेको छ । सूक्ष्म ढंगले काम गर्नुभन्दा पनि धेरै हल्ला गर्ने र त्यसैलाई भजाएर सेलिब्रेटी बन्ने दाउमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले केही दिनयता चालेको कदमले त्यस्तै संकेत गरेको छ ।
वैदेशिक रोजगारको क्षेत्रमा सबै ठगी रोक्ने मात्र होइन, अब जिल्लाजिल्लाबाटै कामदारको श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाउने भन्दै राम्रो तर लागि असम्भव भाषण गर्दै हिँडेका उनले अनाहकमा आफूसमक्ष गुनासो राख्न र ‘गल्ती नगरे पनि बदनाम गराइएको’ भन्दै प्रस्टीकरण दिन पुगेका एमालेकै एक कार्यकर्ताको हुर्मत लिएका छन् । हरेक दिनजसो विभिन्न मूलधारका संवाददाता बोलाएर आफ्नो बढी नै प्रचार गराउन लगाउने चरित्र भएका मन्त्री विष्टले यही चैत १५ गते बिहीबार अघिल्लो दिनको घटनामा गुनासो गर्न पुगेका ब्रिज स्काई इन्टरनेसनलका सञ्चालक तथा एमाले कार्यकर्ता रामचन्द्र बलको सातो लिएका थिए । त्यति मात्र होइन, मन्त्री विष्टले गोप्यमा गरिरहेको कुराकानी छाडेर त्यहाँबाट सबै जना भएतिर आई जंगिने मात्र होइन, उक्त कुरा पत्रिकामा समाचारका रूपमा टिपाएर कारबाही नै एमालेआबद्ध मेनपावर कम्पनीबाट थाल्ने उद्घोष गरेका थिए ।
एक सांसदसहित मन्त्री क्वार्टर पुगेका बल एमालेको जनसंगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको सचिव तथा एमाले मकवानपुर जिल्लाका सचिवालय सदस्य हुन् । मन्त्रीको त्यो कदमपछि एकैछिनमा अनलाइनहरूमा ‘भनसुनका लागि क्वार्टर गएका म्यानपावर व्यवसायीलाई मन्त्री विष्टले हपारे’ शीर्षकको समाचार सामाजिक सञ्जालहरूमा भाइरल भएको थियो । एक प्रत्यक्षदर्शीका अनुसार मन्त्रीको गोप्य कक्षमा प्रवेश गरेको एकैछिनमा मन्त्री कड्किँदै बाहिर निस्किए र बलको कुरा नै सुन्ने धैर्य नराखी उनलाई झपार्न थाले ।
खासमा भएको के हो  ?
अर्को कम्पनी छोडेर साझेदारी गर्न आएका एक व्यक्तिले ठूलो डिमान्ड ल्याएपछि पुरानोे कम्पनीले बलको कम्पनीमाथि निगरानी बढाएको रहेछ । राम्रै डिमान्ड ल्याउन सक्ने क्षमताका ती व्यक्तिले विदेशमा सम्पर्क गरेर ल्याएको डिमान्डप्रति रिस भएपछि बदला लिने र दुःख दिने मनशायले मन्त्री विष्टको सचिवालयमा कुनै व्यक्तिले एक पार्टी प्यालेसमा अन्तरवार्ता हुँदै गरेको सूचना दिएको रहेछ । मन्त्रीको ठाडो आदेश भन्दै सत्यतथ्य नबुझी विभागका कर्मचारीहरू गोप्य रूपमा अन्तर्वार्ता चल्दै गरेको स्थानमा पठाइएको र टोलीमा एक पत्रकारसमेत मन्त्री विष्टका सहयोगी मदन खनालले लिएर गई समाचार प्रवाह गरेका कारण घटना बाहिरिएको बताइन्छ । मात्र ‘फ्री भिसा, फ्री टिकट’को कोटामा धेरैले आवेदन दिएकाले सीमितलाई छान्न अन्तर्वार्ता गर्नुपरेको र सोही परिसरमा अर्को कम्पनीको पनि त्यस्तै अन्तर्वार्ता परेकाले भीड भएको कम्पनीको दाबी छ । त्यसो त अलसाहिद म्यानपावर कम्पनीले लिएको अन्तर्वार्तामा ब्रिज स्काईको संलग्नता नरहेको पनि कम्पनीले स्पष्ट पारेको छ । दिउँसो ३ बजे सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा विभागको टोली र मन्त्रीका सहयोगी पत्रकारसहित पुगेर अनावश्यक रूपमा काममा हस्तक्षेप गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । विभागका अधिकृत टंकप्रसाद चौलागाईं नेतृत्वको टोलीले सामान्य सोधखोज गरी खासै केही होइन रहेछ भनेर हिँड्न खोज्दा मन्त्रीका सहयोगीले एक्सन लिनु भन्ने मन्त्रीज्यूको आदेश थाहा छ कि छैन भन्दै धम्काएर कारोबार रोक्का गर्न र सामान कब्जामा लिन निर्देशन दिएको एक प्रत्यक्षदर्शीले बताए । टोलीले पूर्वश्रमस्वीकृति र अन्तरवार्ता लिने स्वीकृतिको कागजात म्यानपावर सञ्चालकसँग माग्यो र उनीहरूले ती कागजात सहजै उपलब्ध पनि गराए ।
विष्ट किन कड्किए ?
विभागले अनाहकमा कागजात नियन्त्रणमा लिएपछि बल भोलिपल्ट बिहानै मन्त्रीलाई भेटेरै आफ्नो गुनासो राख्न गएका थिए । तर, मन्त्री विष्टले आफ्नो कार्यकक्षमा पत्रकार रहेकाले एकदम उत्साही हुँदै र बललाई झपार्दै भने, ‘यो कुरा बाहिर गइसकेको छ, म विकृतिको सारथि बन्न सक्तिनँ ।’
प्रत्यक्षदर्शीका अनुसार त्यहाँ सञ्चालक बलले ‘एमालेको मन्त्री छ र हामी एमाले भयौं भन्दैमा नमिलेको काम मिलाउन भनेर आएको नभई आफूहरूले गल्ती नै नगरेको र सोही कुरा स्पष्ट पार्न आएको’ बताए ।
उनले आफूहरू कसैको गलत सूचना र उक्साहटका आधारमा गलत साबित भएको भन्दै सबै कागजात अध्ययन गर्दा सही ठहरिने दाबी गरे । तर, कुरा बुझ्दै नबुझी मन्त्री विष्टले छाती फुलाउँदै भने, ‘सबैभन्दा पहिला गल्ती गर्ने एमालेका मान्छेलाई कारबाही गर्छु अनि मात्र अरू पार्टीकालाई गर्छु ।’ मन्त्रीको एकोहोरो करकर सुनिसकेपछि बलले भने प्रतिवाद गर्दै कानुनबमोजिम नै सबै काम गरेको जिकिर गरिरहेका थिए ।
को हुन मन्त्री विष्ट ?
गोकर्ण विष्ट ऊर्जामन्त्री बन्दा चर्चा कमाएका  पात्र हुन् । उनले ऊर्जा मन्त्रालय सम्हाल्दा पनि कुनै राम्रो काम गरेको नभई सेलीब्रेटीका रूपमा मिडियाबाट चर्चा कमाएका थिए । ऊर्जामन्त्री भएर केके न गरेजस्तो गर्दै प्राधिकरणको भ¥याङ लिएर लाइन काट्न हिँडेर चर्चा बटुलेका थिए । उनले सरकार मातहतका अन्य सरकारी कार्यालयले बक्यौता नतिरेको भन्दै लाइन काटेर अवरुद्ध गरेपछि सरकारी पैसा फेरि सरकारी खातामा आएको थियो । तर, सोही कुरालाई यति धेरै राजस्व जम्मा भयो भन्ने ढंगले प्रचार मात्र भयो । तर, त्यतिबेला उनले विभिन्न तारे होटल, औद्योगिक प्रतिष्ठान र अन्य विद्युत् शुल्क बक्यौता रहेका कुनै निजी संस्थालाई भने लाइन काट्ने काम गरेनन् । त्यति मात्र होइन, त्यस्ता निकायबाट भइरहेको विद्युत् चोरी र चुहावट पनि नदेखेझैं गरेर बसेर ब्याकडोरबाट लाभ लिएको चर्चा छ । उनको पालामा उत्पादनका क्षेत्रमा कुनै पाँच मेगावाट पनि नयाँ विद्युत् उत्पादन गर्न सकेनन् भने फर्जी लाइसेन्सहरू पनि खारेज गर्नेतिर ध्यान दिएनन् । उल्टो आफूलाई खुकुरी हानेको प्रसंगको प्रहरी प्रतिवेदन पनि आफैंले गुपचुप पार्न लगाए । आजको बुधवार साप्ताहिकमा खबर छ

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहिबार  ८ : ४१ बजे