मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलीका गफको बाढि, सरकार भने पुरानै ढर्रामा



काठमाडौं वैशाख, ३–
विश्वव्यापी उष्णताले समुद्र सतहनजिक भएका राष्ट्रहरु डुब्न सक्ने चिन्ता व्यक्त गर्दै सन् २००९ मा माल्दिभ्स सरकारले पानीमुनि मन्त्रिपरिषद बैठक आयोजना गर्यो । माल्दिभ्स सरकारले विश्वको ध्यान तान्न त्यस्तो गरेको थियो । त्यही बेला नेपालमा थिए कम्युनिस्ट प्रधानमन्त्री माधवकुमार नेपाल । माल्दिभ्सले विश्वको ध्यान तान्न गरेको कार्य तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालका लागि ‘प्रपोगान्डा’को खुराक बन्यो । उनले कालापत्थरमा मन्त्रिपरिषद् बैठक डाके । मौसम परिवर्तनबारे विश्वको ध्यान तान्ने यो विधि नराम्रो थिएन तर माल्दिभ्सको सिको गरिएका कारण एक ‘प्रपोगान्डा’का रुपमा अथ्र्याइयो ।
प्रधानमन्त्री केपी ओलीले शनिबार नयाँ वर्षको शुभकामना दिँदै रारा तालबाट देशवासीलाई सम्बोधन गरे । त्यही मञ्च प्रयोग गरेर प्रदेश ७ ले पनि मन्त्रिपरिषदको एक बैठक भ्यायो ।  प्रधानमन्त्रीबाट शनिबार व्यक्त भएका विषयहरु राष्ट्रका मूलसमस्यासँग निकट सम्बन्ध राख्ने किसिमका छन् ।

प्रधानमन्त्री ओली  प्रत्येक मन्च बाट बिकाशका ठुला ठुला सपना बाडिरहेका छन तर त्यसलाइ पुरा गर्ने ठोस कार्ययोजना सरकारसँग देखिदैन । चिन र भारत दुबै तिरबाट काठमाडों सम्म रेल जोड्ने देखि लिएर समुद्रमा लेपालि पानीजहाज चलाउने सम्मका योजना प्रधान्मन्त्री ओलीले अघि सारे पनि सरकारको गति र काम गराइ हेर्दा ति सरकारका योजना नभएर प्रधानमन्त्री ओलीका गफमात्रै भएको आभास सर्बसाधरण लाइ हुन थालेको छ। ट्राफिक जाम र धुलोले आक्रान्त राजधानि बासिलाइ राजधानिका सडकको ट्राफिक जाम र घुलोको मात्रै पनि ब्यबस्थापन हुन सके ठुलै राहत पुग्ने देखिन्छ तर यि समस्या लाइ बर्तमान सरकारले समस्याको रुपमा पनि नलीएको देखिन्छ भने सरकारका सबै मन्त्रीहरु आ आफ्नै सुरमा ब्यस्त छन ।   विश्लेषक डा. प्रेमबहादुर बस्नेत भन्छन्, ‘प्रधानमन्त्रीको अभिव्यक्ति एकातिर छ भने मन्त्रीपिच्छेका निजी कार्यक्रम भटाभट सार्वजनिक भइरहेका छन् । यो मन्त्रिपरिषद्मा जति सदस्य छन्, सबैको ताल आ–आफनै छ ।’

सरकारका गृहमन्त्री रामबहादुर थापा बादलका ‘सुनतस्करी’, ‘चर्च–मन्दिर’, ‘जुसकाण्ड’, ‘हवल्दारसँगको भोज’ प्रकरणले चरित्र उदांगो भइसकेको छ । सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले एनसेलसँगको अरबौंको कर, ‘नेपाल टेलिकमको नियोजित गुणस्तरहीन सेवा’ छाडेर विदेशका मोबाइल प्रतिबन्ध गर्ने अभिव्यक्तिपछि बद्नाम छन् । डा. बस्नेत भन्छन्, ‘गृहमन्त्रीको त कुरै नगरौं । उहाँले अति नै गरिसक्नु भयो । अरु मन्त्रीहरुको शैली पनि उदेकलाग्दो छ ।’

अटोमोबाइलमा अवैध नाफा राख्ने व्यापारीविरुद्ध कारबाही थालेका आपूर्ति मन्त्रालयअन्तर्गत आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहाललाई आपूर्तिमन्त्री मातृका यादवले कारबाहीका रुपमा सरुवा गरिदिए । अर्कोतिर सुगर मिलका प्रबन्धक बृजमोहन गुप्तालाई पक्राउ गरेर जस लिने प्रयास गरे ।
‘यी मन्त्रीहरु जो जो जुनजुन शक्ति केन्द्रबाट परिचालित छन्, उनीहरुकै निर्देशनबमोजिम चल्छन् । यो सबै बेथितिको उद्देश्य राज्य संयन्त्र भत्काउनु हो । कसैले दूतावास, कसैले एनजिओ, कसैले गुप्तचर एजेन्सीको पैसा खाएका छन्  । उनीहरुकै हितमा काम गर्छन् ।’ राजनीतिक विश्लेषक भरत दाहालको तर्क छ ।
प्रधानमन्त्री केपी ओलीले राराबाट समृद्धिको उद्घोष गरेकोमा दाहालले प्रशन्नता व्यक्त गरे । तर विषय अरु बाँकी छन् । उनी भन्छन्, ‘रारातालबाट समृद्धिको उद्घोष भएजस्तै कालापानीबाट स्वाधीनताको उद्घोष भएमा आजीवन आरती घुमाउने थिएँ ।’

वर्तमान मन्त्रिपरिषदमा आपूर्तिमन्त्री मातृका यादव, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, अर्थमन्त्री डा. युवराज खतिवडाबाट राम्रो काम हुने अपेक्षा गरिएको थियो ।
यी मध्ये पर्यटनमन्त्री रवीन्द्र अधिकारी सरकारको प्राथमिकता भन्दा आफ्नै निजी कार्यक्रम लागू गर्ने प्रयत्नमा छन् भन्ने संकेत देखिन्छ । लालबाबुले सामान्य प्रशासनमा बिजनेस पाएका छैनन् । युवराज खतिवडालाई कांग्रेसले श्वेतपत्र होइन ‘लालपत्र’ सार्वजनिक गरेको भन्दै आलोचना गरेका छन् । मातृका यादव अझै परीक्षण हुन बाँकी छन् ।
हालको सरकारमा एमाले भन्दा पनि माओवादीबाट सरकारमा जानेहरु विवादमा तानिने खतरामा बछि छ । बादल, मातृका यादव त विवादमा परि नै सके । ‘बुहारी मन्त्री’ भनेर चिनिने खानेपानी मन्त्री बिना मगर पनि ‘कडा निर्देशन’मात्रै जारी गरिरहेकी छन् । मेलम्चीको सुरुङ खोतल्ने काम सकिसकेको छ । तर उनले भाषणका लागि र निर्देशनका लागि अरु बिजनेस नै नपाए झै भनिरहेकी छन्, ‘मेलम्चीको काम रोकिनु हुँदैन । दशैं अघि नै काठमाडौंबासीले मेलम्चीको पानी पाउनु पर्छ ।’
२० वर्ष नाघिसकेको यो आयोजनाको पानी तीन महिनामै आए पनि ठूलो काम गरेको ठहरिँदैन । तर जस लिन मन्त्रीहरु तँछाडमछाड गरिरहेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार  ७ : ५१ बजे