काठमाडौं जेठ, १७–
जुट मिल बन्द गरेर सञ्चालक फरार भएपछि कर्मचारीले आठ महिनादेखिको तलब पाएका छैनन् । करारका २२ कर्मचारीले आठ महिना र ज्यालादारी ७० कर्मचारीले चार महिनाको तलब नपाएका हुन् । गत फागुनमा मिल नै बन्द गरेर सञ्चालक समिति अध्यक्ष वसन्त बन र प्रबन्धक नीलहरि काफ्ले बेपत्ता छन् । लेखा शाखामा पनि ताला लगाईएको छ । कर्मचारीले हाजिर गर्न पाएका छैनन् ।
तलब नपाएपछि कर्मचारीले मिल सरसफाइ पनि गरेका छैनन् । शनिबार अनुगमनमा पुगेका उद्योग मन्त्री मातृका यादवले कर्मचारीलाई सफा गर्न लगाएका थिए । उनले छिट्टै मिल सञ्चालन गर्ने पनि बताएका छन् । मिल सञ्चालन गर्नुअघि काम नगरी बसेका कर्मचारीलाई तलब खुवाउनुपर्नेछ । कर्मचारीलाई दिनुपर्ने तलब एक करोड पुगिसकेको छ ।
स्रोतका अनुसार सञ्चालक समितिले बन्द रहेको मिल सञ्चालनका लागि ४० करोड मागेको थियो । तर, सञ्चालकले नै मिलको सरकारी सेयर आफ्नो नाममा गराउन खोजेको विषय बाहिर आएपछि अध्यक्ष र प्रबन्धकबीच विवाद भएको थियो । विवाद समाधान नहुँदै दुवैजना मिल बन्द गरेर बेपत्ता भएका हुन् ।
अहिलेको सञ्चालक समितिले बन्द जुट मिल १० मंसिर ०७४ देखि आंशिक रूपमा सञ्चालनमा ल्याएको थियो । तीन महिनापछि पूर्ण अवस्थामा मिल सञ्चालन गराउने भन्दै अध्यक्ष वसन्त बन र प्रबन्धक निलहरि काफ्लेको सञ्चालक समिति बनेको थियो । मिल सञ्चालनका लागि दैनिक ७० ज्यालादारी कर्मचारी खटाइएको थियो । तर, मिललाई पूर्ण अवस्थामा सञ्चालन गर्ने मिति नजिकिएपछि अध्यक्ष बन र प्रबन्धक काफ्ले बन्द गरेर फरार भए ।
यसअघि लामो समय बन्द रहेको मिलका कर्मचारीलाई बाबुराम भट्टराई सरकारले ५० करोड खर्चेर ‘गोल्डेन ह्यान्डसेक’मार्फत बिदा गरेको थियो । त्यसपछि ०७० सालमा भारतीय कम्पनी बिमसमले मिल सञ्चालन गर्न २५ वर्षकालागि लिजमा लिएको थियो । तर, विद्युत् आपूर्तिको समस्या देखाउँदै बिमसमले एक वर्षमै ताला लगाएको थियो ।
४० लाखको पटुवा अलपत्र
गत मंसिरदेखि आंशिक रूपमा सञ्चालन भएको जुटमिल फेरि बन्द भएपछि ४० लाख बराबरको ८६ टन पटुवा अलपत्र छ । पानीले भिजाउने ठाउँमा भण्डारण गरिएकाले पटुवा कुहिएर नष्ट हुने अवस्थामा रहेको एक कर्मचारीले बताए । मिलभित्रै पनि पानी चुहिने उनको भनाइ छ ।
दुई सय बन्डल सुतली मात्र उत्पादन
नयाँ सञ्चालक समितिले जिम्मा लिएर मिल आंशिक सञ्चालन गरेपछि तीन महिनामा जम्मा दुई सय बन्डल सुतली उत्पादन भयो । एउटा पनि बोरा उत्पादन भएन । एकैदिनमा पटुवा प्रशोधन गरेर हजारौँ बोरा उत्पादन गर्न सकिने भएपनि सञ्चालक समितिको नियतमिल सञ्चालन गर्ने नदेखिएको कर्मचारीको भनाइ छ ।