मूल्यवृद्धि बीरुद्द नेपाल विद्यार्थी संघ आन्दोलित



काठमाडौं जेठ, २२–
नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ आन्दोलित भएको छ । उसले सरकारसँग पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै आन्दोलन गरेको हो ।
नेविसंघले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई दबाब दिन जिल्ला प्रशासन कार्यालयमा मूल्यवृद्धि फिर्ता लिन ज्ञापन पत्र बुझाएको हो ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले सरकारले गरीब जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नलिएसम्म संघर्ष जारी रहने बताए ।

बुधबार देशभरका सदरमुकाममा १ घन्टा यातायात चक्काजाम गर्ने कार्यक्रम रहेको उनको भनाई छ ।
त्यसपछि जिल्ला प्रशासन कार्यालय परिसरमा धर्ना दिने कार्यक्रम छ।

यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई भेटेर नेविसंघलगायत विद्यार्थी संघसंगठनले यसअघि नै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरिसकेका छन्। जवाफमा मन्त्री यादवले अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार समायोजन गर्दा तेलको भाउ बढेको बताए ।

प्रकाशित मिति : २२ जेष्ठ २०७५, मंगलबार  ११ : ५० बजे