काठमाडौं भदौ, १२–
प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विगतलाई लिएर नकारात्मक टिप्पणी गरेका छन् । तत्कालिन माओवादी पार्टीको नेतृत्व गरेका प्रचण्ड तथा माओवादी सशस्त्र जनयुद्धबारे प्रधानमन्त्री ओलीले नकारात्मक टिप्पणी गरेका हुन् ।
सोमबार बेलुका सरकारी निवास बालुवाटारमा केही सम्पादकसँगको भेटमा प्रधानमन्त्री ओलीले उक्त कुरा खुलासा गरेका हुन् । उनले कसैको नाम उल्लेख नगरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (नेकपा) र तत्कालिन प्रचण्ड नेतृत्वको माओवादीको व्यवहार समान उस्तै रहेको संकेत गरेका हुन् । विप्लव नेतृत्वको माओवादीतर्फ ईंगित गर्दै उनले विगतमा माओवादीले जस्तै उसले आतंककारी गतिविधि गरिरहेको टिप्पणी गरे । शान्तिपूर्ण राजनीतिका नाममा मुलुक विखण्डनका लागि भौगोलिक अखण्डताविरुद्ध काम गर्ने र म्यादी प्रहरी मार्ने, विभिन्न पार्टीका नेता सवार गाडीमा बम हान्ने, दलका कार्यकर्ताको खुट्टा काट्ने कामलाई उनले विगतका माओवादीसँग तुलना गरे । यस्तै उनले विगतमा माओवादीले बाहिर राजतन्त्रविरुद्ध युद्धको कुरा गरे पनि भित्रभित्रै दरबारमा मान्छे पठाएर साँठगाँठ गरेको आरोप पनि लगाए ।
माओवादी शान्ति प्रक्रियामा आएपछि सेनाका जर्नेलहरुलाई सांसद बनाएबाटै उक्त कुरा प्रमाणित भएको उनको तर्क थियो । ‘देश टुक्राउने कुरा गरेर, भौगोलिक अखण्डतालाई चुनौती दिएर, शान्तिपूर्ण भन्दै । माओवादीले पनि हिजो त्यही भनेको थियो’, उनले भने, ‘माओवादीले यो राजतन्त्रविरुद्ध हामी होइन क्यारे’ भन्दै दरबारमा मान्छे पठाएर साँठगाँठ गरेकै थियो । सेनाविरुद्ध हामी छँदैछैनौं भनेर विभिन्न जर्नेलहरुसँग साँठगाँठ थियो ।
ती माओवादी खुल्ला हुनेवित्तिकै मनोनित सांसद हुन पुगेका पनि थिए । जर्नेल हुँदाखेरि ती मान्छे नेपाली सेनाको जागिर खाएर माओवादी नेताहरुलाई बोकेर कुद्थे गाडीमा ।’ उनले विप्लवप्रति संकेत गर्दै बाह्य शक्तिसँग लिंकेज रहेको आरोप लगाए । ‘लिंकेज कसको, कहाँ भनेर भन्न गाह्रो छ । अहिले पनि म व्यक्त गर्दिन’, उनले भने, ‘तपाईंंहरु जान्नुहुन्छ । उनले विगतमा राष्ट्रलाई शान्त रहन नदिन अनेक प्रकारका द्वन्द्वका ठूल्ठूला टुसा पलाएर पात हालिसकेको भए पनि साम्य भएको र त्यस्ता तत्व किनारा लागेको बताए । उनले विप्लवप्रति सैकेत गर्दै राजनीतिक पार्टीको आवरणमा हत्या, हिंसाजस्ता आतंककारी गतिविधि नगर्न चेतावनी दिए । उनले विप्लवको पहुँच डरलाग्दो रहेको समेत संकेत गरे । ‘यिनको कहाँकहाँ सम्म पहुँछ त्यो डरलाग्दो छ । भन्न सकिँदैन । क–कसको साथ सहयोग छ, क–कसको हात छ । प्रधानमन्त्रीले नेपालविरुद्ध डरलाग्दो षड्यन्त्र भइरहेको उल्लेख गरे ।