यी हुन् विदेशमा चम्किएका नेपाली ब्रान्ड
१६ भदौ, काठमाडौं–नेपालमा अधिकांश वस्तु विदेशबाट आयात हुन्छ । तर, कतिपय यस्ता नेपाली उत्पादन पनि छन् जसले विदेशमा पनि राम्रो पहिचान बनाएका छन् । वाइवाइ चाउचाउ नेपालीको मात्र होइन, तीन दर्जन मुलुकका भान्सामा पाक्छ । गोल्डस्टार नेपालमा भन्दा भारतमा बढी चर्चित छ । हिमालयन जाभा विदेशमै आउटलेट खोल्न व्यस्त छ । यसै वर्ष बाजेको सेकुवा अमेरिका पुग्यो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
वाइवाइ चाउचाउ
सजिलो र छिटो खाजाको विकल्प बनेको वाइवाइ चाउचाउ नेपालीको भान्सामा मात्रै होइन, विश्वका तीन दर्जनभन्दा बढी मुलुकमा पुगेको छ । नेपालबाहेक भारत र युरोपको सर्भियाबाट उत्पादन सुरु भइसकेको छ । बंगलादेश, साउदी अरेबियालगायत मुलुकमा पनि उत्पादनको तयारी भइरहेको छ ।
मध्यपूर्व, युरोप, अफ्रिका, ल्याटिन अमेरिकामा प्लान्ट जडान गरेर वाइवाइलाई विश्वभर फैलाउने अभियानमा लागेका छन्, विनोद चौधरी । विश्वको चाउचाउ बजारमा वाइवाइको हिस्सा तीन प्रतिशत पुगिसकेको छ । सन् २०२० सम्ममा पाँच प्रतिशत बजार हिस्सा पु¥याउने लक्ष्य लिइएको छ । सो अवधिमा वाइवाइ प्लान्ट पनि एक दर्जन पुगिसक्ने चौधरी बताउँछन् । भारतमा म्यागीपछि सबैभन्दा बढी खपत हुने चाउचाउमा वाइवाइ पर्छ ।
ललितपुर, नवलपरासी र बर्दियाबाट वाइवाइ उत्पादन हुने वाइवाइ पूर्वको सुनसरीबाट पनि उत्पादन सुरु हुँदै छ । भारतमा वाइवाइका आठवटा प्लान्ट सञ्चालनमा छन् । भारतीय बजारमा वाइवाइको साम्राज्य खडा भइसकेको चौधरीको भनाइ छ । वाइवाइलाई भारतभरि फैलाउन विभिन्न प्रदेशमा प्लान्ट थप्ने काम भइरहेको छ ।
युरोपको सर्भियामा हालसालै वाइवाइ उत्पादन सुरु भएको हो । वाइवाइ युरोपबाट उत्पादन हुने सम्भवतः पहिलो नेपाली ब्रान्ड हो ।
गोल्डस्टार जुत्ता
नेपाली बजारमा संसारभरका जुत्ता स्थापित भइरहेका वेला भारतीय जुत्ता बजारमा नेपालको गोल्डस्टार प्रतिस्पर्धी ब्रान्ड बनेको छ । उत्पादनको झण्डै ८० प्रतिशत भारत प्रतिशत निर्यात हुन्छ । भारतबाहेक बंगलादेश, श्रीलंका, पाकिस्तान, अस्ट्रेलियामा पनि निर्यात हुने गरेको छ । सुन्दा आश्चर्य लाग्न सक्छ, भुटानी सुरक्षाकर्मीले गोल्डस्टार जुत्ता लगाउँछन् ।
नेपालबाट गोल्डस्टारका एक दर्जनभन्दा बढी मोडल निर्यात हुन्छन् । गोल्डस्टार विश्वव्यापी ब्रान्ड बनाउने अभियानमा किरण सुज म्यानुफ्याक्चर्स लागेको छ । यसका लागि भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज)मा गोल्डस्टार उद्योग स्थापना हुँदै छ । यो उद्योगमा डेढ अर्बजति लगानी रहने कम्पनीले जनाइएको छ ।
सन् १९९० बाट उत्पादन सुरु गोल्डस्टार निकट भविष्यमै अफ्रिकासम्म फैलाउने किरण सुजको योजना छ ।
हिमालयन जाभा
कफी पिउने पश्चिमा संस्कृति हो । हिमालयन जाभाले नेपालमा कफी पिउने संस्कृतिको विकास ग-यो । दुई दशकअघि ठमेलबाट सुरु भएको हिमालयन जाभा आक्रामक आउटलेट विस्तारमा लागिपरेको छ । देशभित्र दुई दर्जन ठाउँमा जाभाका आउटलेट र फ्रेन्चाइज फैलिसकेका छन् । रमाइलो पक्ष के भने पश्चिमा संस्कृति भित्र्याउने जाभा अहिले धमाधम पश्चिमा मुलुकमै फैलिरहेको छ ।
गगन प्रधानले सन् १९९९ मा हिमालयन जाभा सुरु गरेका हुन् । अहिले क्यानडा, बेलायत, अमेरिका, भुटान, अस्ट्रेलिया, दक्षिण कोरियालगायत मुलुकमा जाभाका आउटलेट खुलिसकेका छन् । अमेरिकामा जाभाका चारवटा आउटलेट सञ्चालन छन् । जाभामा करिब ७० प्रकारको कफी तयार पारिन्छ । नेपाली ब्रान्ड हिमालयन जाभाले विदेशमा पनि छुट्टै पहिचान बनाउँदै छ ।
खुकुरी रम
विदेशी रक्सी रुचाउने नेपालीको संख्या कम छैन । तर, नेपाली ब्रान्ड खुकुरी रम भने विदेशमा लोकप्रिय छ । विदेशमा खुकुरी रम नेपाल चिनाउने ब्रान्ड बनेको छ । खुकुरी रम जर्मनी, बेल्जियम, जापान, दक्षिण कोरिया, अमेरिका, सिंगापुर, युएई, इटालीलगायत दर्जन मुलुकमा पुग्छ । कोसेलीका रूपमा थुप्रै मुलुकमा खुकुरी रम पुग्ने गरेको बताउँछन्, दी नेपाल डिस्ट्रिलरीका डिजिएम सुवास लामिछाने ।
नेपालमा सन् १९५९ देखि खुकुरी रम उत्पादन सुरु भएको हो । सुरुवातदेखि नै रम उत्पादनमा जोड दिँदै आएको कम्पनीले खुकरी रमलाई विश्वव्यापी ब्रान्ड बनाएको छ ।
शेर्पा एडभेन्चर गियर
नेपाली ब्रान्ड शेर्पा एडभेन्चर गियर विदेशमा लोकप्रिय छ । कम्पनीका उत्पादन अमेरिका, युरोप र दक्षिण–पूर्वी मुलुकमा पुग्छन् । अमेरिकामा कम्पनीको आउटलेट खुलिसकेको छ । कम्पनीले डाउन ज्याकेट, स्वेटर, हुकलगायत न्यानो पोसाक उत्पादन गर्छ । गियरले आरोहण र ट्रेकिङलाई आवश्यक कपडा पनि उत्पादन गर्छ । जुन कपडा देश–विदेशमा परिचित छन् । गियरले न्यानो कपडा पनि उत्पादन गरिरहेको छ ।
ट्रयाङकुलिटी स्पा
नेपालमा मसाज भन्नेबित्तिकै ठमेलसँग जोडेर हेरिन्थ्यो । नेपाली समाजले स्पा थेरापीलाई हेर्ने नजर राम्रो थिएन । तर, ट्र्यांकुलिटी स्पाले आधुनिक रूप धारण गरिदियो । अहिले मसाज, थेरापी बदनाम छैन । ठूला होटेलमा अत्यावश्यक सेवामा गनिन थालेको छ । धनाढ्य वर्गको स्पाप्रति आकर्षण बढ्दो छ ।
युवा उद्यमी फुवन फैँजूले संघर्ष गरेर स्थापित गरेको ट्र्यांकुलिटी स्पा देशभरमात्रै होइन मलेसियासम्म फैलिएको छ । मलेसियाको मेरियट होटेल, पामगाले रिसोर्ट र ह्याटन होटेलमा ट्र्यांकुलिटी स्पा सञ्चालनमा छ ।
लोगो फेसन
मुुलुकका प्रख्यात फेसन ब्रान्ड धमाधम नेपाल भित्रिरहेको पाइन्छ । तर, केही नेपाली फेसन ब्रान्ड विदेशमा पनि उत्तिकै लोकप्रिय छन् । नेपाली ब्रान्ड लोगो फेसनका कपडा विदेशमा लोकप्रिय छन् । लोगो ब्रान्डका कपडा युरोपेली मुलुकमा बढी निर्यात हुन्छन् । ब्रान्ड साढे दुई वर्षअघि दुबईबाट सुरु भएको थियो ।
‘अन टप’ मिनरल वाटर
नेपालको उच्च हिमाली मूलको पानी कोरिया, साउदी अरेबिया, कुवेत, अमेरिकासम्म पुगिसकेको छ । रसुवाको धुन्चेमा कारखाना रहेको हिमालयज स्प्रिङ वाटरको ‘वान टप’ उत्पादन विदेशसम्म पुगेको हो । पछिल्लो समय स्वदेशकै तारे होटेलमा पनि ‘वान टप’ पानीको माग बढेको छ । अजेयराज सुमार्गीले हिमालयको पानी प्रशोधन गरेर अन्तर्राष्ट्रिय बजारमा पु-याउन कोरियन कम्पनीसँग मिलेर ‘मिनरल वाटर’ उत्पादन सुरु गरेका हुन् । हिमाली मुहानको पानी अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय हुने सम्भावना देखेपछि सुमार्गीले ‘वान टप’ ब्रान्डलाई स्थापित गरेका छन् ।