मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्ततःसहमतिमै तोक्यो नेविसंघले महाधिवेशनको मिति, १६,१७ र १८ कात्तिकमा महाधिवेशन हुने



काठमाडौं भदौ, २६–
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अन्ततः महाधिवेशनको मिति तोकेको छ । गएराती सम्पन्न आगामी नेविसंघको केन्द्रीय समिति बैठकले कात्तिक १६,१७ र १८ गते महाधिवेशनको मिति तय गरेको हो ।

नेविसंघका एक नेतले दिएको जानकारी अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा गएराती सम्पन्न केन्द्रीय समितिको बैठकले कात्तिक १६,१७ र १८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले अध्यक्षसहित उपाध्यक्ष र महामन्त्रीको ६ सदस्यीय समितिले केन्द्रिय समितिमा उठेका विषयहरु समेटेर सबैसँग समन्वय गरि भदौ २७ गतेभित्र संघको संशोधित विधान नियमावली –२०७५ पार्टीलाई बुझाउने निर्णय पनि गरेको छ ।

विधान नियमावली पार्टीबाट अनुमोदन भएपछि क्याम्पस र जिल्लाहरुमा केन्द्रिय प्रतिनिधि खटाउँदै सम्बन्धित अधिवेशनहरु सम्पन्न गरिने तय भएको छ । जसअनुसार असोज ७ गते देशैभरका मावि र क्याम्पस अधिवेशन, असोज १२ गते गाउँपालिका , उप– महा–नगरपालिका अधिवेशन, असोज १५ गते प्रदेश क्षेत्र अधिवेशन, असोज २१ गते ७७ वटै जिल्लामा जिल्ला अधिवशन, ९ असोज २३ गते उपत्यकाभित्रका क्याम्पस अधिवेशन, कात्तिक १० र ११ गते ७ वटै प्रदेशको अधिवेशन सम्पन्न गर्ने तय भएको छ। बैठकले उमेरको ३२ वर्षको लाग्ने भनिएको हदबन्दी हटाएको पनि बताइएको छ ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले शनिबार सानेपामा आयोजित पार्टीको निर्देशन समितिको बैठकमा संगठनको विधान, नियमावली र अधिवेशनको कार्यतालिका प्रस्तुत गरेका थिए । सोही कार्यतालिकाअनुसार नेविसंघको बैठकले महाधिवेशनको निर्णय गरेको हो । नेवि संघको दुई वर्षे कार्यकाल भदौ पहिलो साता सकिएपछि कांग्रेसले संगठनलाई महाधिवेशन गर्ने समय तीन महिनाका लागि थप गरेको थियो ।

दुई वर्षभित्रै नयाँ नेतृत्व चयन गर्नुपर्ने भएपनि नेविसंघभित्रको आपसी विवादले समयमा महाधिवेशन हुन सकेको थिएन । तर, भदौ २ गते नेविसंघभित्रको संस्थापन र समानान्तर गतिविधि गर्दै आएका कुन्दन काफ्ले समूहबीच तीन महिनाभित्र महाधिवेशन गर्ने समझदारी भएको थियो ।

यो समझदारीसँगै सहमहामन्त्री डा प्रकाश शरण महत संयोजक रहेको निर्देशक समितिले तीन महिना नेविसंघको वर्तमान कार्यसमितिको म्याद थप गर्न सहमति दिएको थियो । त्यस्तै निर्देशक समितिले १२औँ महाधिवेशन गर्ने कार्ययोजना पेस गर्न निर्देशन पनि दिएको थियो । सोही अनुसार अध्यक्षले शनिबारको बैठकमा संगठनको विधान, नियमावली र अधिवेशनको कार्यतालिका प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७५, मंगलबार  ६ : ०० बजे