मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुरा नहुने भयो वामदेवको सांसद बन्ने सपना , जता गयो तेतै अबरोध



काठमाडौं भदौ, २९–

केही समयदेखि नेकपाका सचिवालय सदस्य वामदेव गौतम सांसद बन्ने बिषयले धेरै महत्व पायो । नेता गौतमले एउटा अन्तरवार्तामा भनेका थिए– ‘अध्यक्षको चाहना म प्रतिनिधि सभामा आऊँ भन्ने भएकाले त्यसअनुसारको तयारी गर्दैछु ।’

गौतमलाई नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभा छिराउन चहान्छन् । त्यसका लागि पूर्वतयारी पनि नभएको होइन । गौतमलाई डोल्पाबाट जिताउन सहज हुन्छ भन्ने लागेपछि त्यहाँका सांसद धनबहादुर बुढालाई राजीनामा गराउने हल्ला बजारीकरण भयो । बुढाले पनि ठाउँ छाड्ने संकेत दिँदै भनेका थिए– नेताले चाहे त्यो गर्छु । तर, अब गौतमका लागि बुढा पनि ठाउँ छाड्न तयार छैनन् ।

डोल्पाका सांसद धनबहादुर बुढाले पछिल्लो समयमा सांसद छोड्न रुची देखाएका छैनन् ।
डोल्पामा बुढालाई राजीनामा गर्न लगाएर गौतमलाई उठाउने पहिलो हल्लाले त्यतिबेला विश्राम पायो, जतिबेला त्यहाँका नेकपा कार्यकर्ताले ‘हुँदैन’ भन्ने डेलिगेशन केन्द्रीय कार्यालयमा ल्याए । लगत्तै, सांसद बुढा आफैं पनि क्षेत्रमा पुगेर गौतमलाई सघाउनका लागि अपिल गर्न पुगे । तर, कार्यकर्ता र मतदाताले नमानेपछि उनको घोषणा आयो– म छाड्दीन !

गौतमको चाहना डोल्पामा मात्रै रोकिँदैन । भैंसेपाटीमा बस्ने उनका बारेमा अनेकन हल्ला चलाउन थालियो । र, ललितपुर पनि सारियो यो विषय ।
नेकपाले ललितपुर–१ मा प्रतिनिधि सभा सदस्य नवराज सिलवाललाई राजीनामा गर्न लगाउने भन्ने अर्को हल्ला आयो । यसलाई सिलवालले सिधै ‘उडन्ते’ गफ भनिदिए । यस्ता वाइयात कुराको पछि नलाग्न पनि उनको सुझाव आयो । जुन क्षेत्र चर्चामा आउने कुनै सवाल नै छैन ।

त्यसपछि वामदेवका लागि विकल्पको द्वार पूर्वी रुकुमतिर सारियो । त्यहाँबाट निर्वाचित सांसद कमला रोकाले निराधार हल्लामात्र भएको टिप्पणी गरिन् । उनले बामदेव गौतमलाई त्यहाँबाट चुनाव लडाउने कुनै सल्लाह वा कुुराकानी समेत पार्टीमा नभएको रोक्काको दाबी आएपछि अर्को ‘च्याप्टर क्लोज’ भयो ।

प्युठानका सांसद दुर्गा पौडेललाई राजीनामा गर्न लगाएर उपनिर्वाचन मार्फत गौतम उठ्ने चाहना रहेको हल्ला पनि आएको थियो । तर, प्युठानका सांसद पौडेललाई त्यसविषयमा कुनै जानकारी नहुनु गौतमका लागि ठाउँ खाली गर्न कोही पनि तयार नभएको प्रस्ट देखिन्छ ।

प्रकाशित मिति : २९ भाद्र २०७५, शुक्रबार  ४ : ०३ बजे