मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस नेता पौडेलको आरोपः निर्मला पन्त हत्याकाण्डको छानविन प्रतिवेदन सरकारले लुकायो



काठमाडौं असोज, ११–
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले निर्मला पन्त हत्या प्रकरण ढाकछोप गर्ने प्रयास गरेको बताएका छन् ।

नेता पौडेलले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्याकाण्डको छानविन प्रतिवेदन सरकारले लुकाएको आरोप समेत लगाए । उनले समितिले बुझाएको छानविन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग मागसमेत गरे । नेता पौडेलले भने, ‘छानविन समितिले गृहमन्त्री रामबहादुर थापा बादललार्इ बुझाएको प्रतिवेदन गुपचुप राखिएको छ ।’

निर्मला हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याएर मुलुकमा शान्ति, सुरक्षा कायम गर्न सरकार गम्भीर नदेखिएको वरिष्ठ नेता पौडेलको दावी छ ।

युरोपका विभिन्न मुलुकस्थित पार्टी संगठनको कार्यक्रममा सहभागी भएर बिहीबार स्वदेश फर्किएका नेता पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै बुढिगण्डकी जलविद्युत आयोजना चीनको गेजुवा कम्पनीलाई निर्माण गर्न दिने सरकारको निर्णयप्रति पनि आपत्ति जनाएका छन् ।

एक फरक प्रसंगमा वरिष्ठ नेता पौडेलले पार्टीका सबै निकायमा विदेशस्थित पार्टी संगठनहरुको प्रतिनिधित्व सुनिश्चित हुनेगरी विधान बनाउन पनि पार्टी नेतृत्वसँग माग गरे ।

१० दिन लामो युरोपको बसाइका क्रममा उनले त्यहाँस्थित पार्टी मातहतमा रहेका नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागी भएका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०७५, बिहिबार  ८ : २४ बजे