मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल लगायतका राष्ट्रिय गौरवका आयोजना तत्काल अघि बढाउन निर्देशन



काठमाडौँ ।

राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समितिले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको छ ।

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले पछिल्लो समय सर्वाधिक चासोको विषय बनेको निजगढ विमानस्थलको सन्दर्भमा जनस्तरबाट आएको चासो र सरोकारका विषयमा सम्बन्धित परियोजना र मन्त्रालयबाट सही तथ्य र सत्यलाई प्रस्ट पार्दै निर्माणमा ढिलो नगर्न निर्देशन दिएको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको एक वर्ष भित्रै सम्पन्न गर्नेगरी सञ्चालनमा ल्याउन समितिले सुझावसहित निर्देशन दिएको छ ।

त्यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा अधिग्रहण र मुआब्जा वितरण अविलम्ब सम्पन्न गरी निर्धारित समयसीमा भित्रै सम्पन्न गर्न बैठकले आग्रह गरेको छ ।

निर्माणाधीन परियोजनामध्ये निजगढ विमानस्थलको हाल चार किल्ला तोक्ने, जग्गा अधिग्रहणको मुआब्जा वितरण तथा बस्ती स्थानान्तरणको काम भइरहेको छ । उक्त आयोजनाको वातावरणीय प्रभावमा मूल्याङ्कन (इआइए) स्वीकृत भई क्षेत्र खाली गर्ने काम भइरहेको आयोजना प्रमुख ओम शर्माले जानकारी दिए। उनले विमानस्थलको ११० बिघा जग्गाको मुआब्जा वितरणको काम अघि बढाइएको बताए ।

समितिले पशुपति क्षेत्र विकास कोषको सम्पत्ति विवरण भेटी लगायतका विषय पारदर्शी ढङ्गले सार्वजनिक गर्न, जग्गा संरक्षण, विद्युतीय शवदाह गृहको प्रभावकारी सञ्चालनमा सम्बन्धीत निकायलाई ध्यानाकर्षण गराइएको छ । लुम्बिनी क्षेत्र विकास कोषअन्तर्गत लुम्बिनी गुरुयोजनाको बाँकी काम चाँडो सम्पन्न गर्न तथा पशुपति क्षेत्र विकासको व्यवस्थित गुरुयोजना तयार गरी कार्यान्वयनमा ल्याउन पनि बैठकले निर्देशन दिएको छ ।

समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्र र जनताका सरोकारका विषयमा समन्वयका साथ विकास निर्माणका कामलाई साझेदारी र पहरेदार गर्न समिति क्रियाशील हुने धारणा व्यक्त गरे।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले निजगढ अन्तराष्ट्रिय विमानस्थल देशकै ठूलो र गौरवमय परियोजना भएको भन्दै यसको निर्माण कार्यलाई शीघ्र रुपमा अघि बढाइने बताए ।

उनले अन्तर्राष्ट्रिय विमानस्थलको सबै मापदण्ड पूरा हुने सबै हिसाबले उपयुक्त भएकाले यो परियोजनालाई कमभन्दा कम पर्यावरणीय क्षति हुनेगरी निर्माण गरिने धारणा व्यक्त गरे । “यो विमानस्थल सबै हिसाबले उपयुक्त छ, वरपर पहाड नभएको, शून्य भिजिबिलिटीमा विमान उडान अवतरण गर्न सकिने, राजधानी नजीक राजमार्गसँगै जोडिएको गन्तव्य, धावनमार्गका लागि कम खर्चिलो र बलियो आदि कुराले यो सबैभन्दा उपयुक्त स्थल छ, अरू विकल्प हुनै सक्दैन,” मन्त्री अधिकारीले भने।

मुलुकमा बढ्दो हवाई चापलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थले अवाश्यकता पूरा गर्न नसक्ने, भैरहवा र पोखराले पनि धान्न नसक्ने भएकाले निजगढलाई अघि बढाइएको उल्लेख गर्दै उनले निर्माणका लागि आवश्यक पर्ने मापदण्ड पुर्‍याएरै परियोजना अघि बढाइएको बताए ।

निजगढ विमानस्थलबारे अफवा फैलाइएकामा ध्यानाकर्षण गराउँदै मन्त्री अधिकारीले भने, “रूख कटानबारे धेरै हल्ला फिजाइयो छ, यो भ्रम नहोस्, डिपिआर छैन भन्ने भ्रम नहोस्, कुनै पनि आयोजनाको शत्प्रतिशत हुँदैन, आयोजनाको सुनिश्चितता नभईकन रूख कटान हुँदैन, बिरुवा रोप्ने काम पनि सँगसँगै लैजान्छौँ यसमा अलमलिने छुट छैन ।”

फरक प्रसङ्गमा मन्त्री अधिकारीले नेपाल वायु सेवा निगमको दुई वाइड बडी ए–३३० खरीदमा अनियमितता भएको भन्ने सन्दर्भमा छानबिन समितिले त्रुटि औँल्याएमा संलग्न अधिकारी कारवाहीको भागिदार हुने विश्वास दिलाए ।

मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले दीर्घकालीन महत्वको निजगढ विमानस्थललाई कमभन्दा कम पर्यावरणीय क्षति हुनेगरी काम अघि बढाइने बताए।

बैठकमा अधिकांश सदस्यले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई प्रभावकारी रुपमा अघि बढाउन आग्रह गर्दै चासोको विषय बनेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई न्यून पर्यावरणीय क्षति हुने गरी निर्माण अघि बढाउन आग्रह गरे।

दूरगामी महत्वको अन्तर्राष्ट्रिय चासोपूर्ण निजगढ विमानस्थल देशकै समृद्धिसँग जोडिएको विषय भएकाले यससम्बन्धमा उठेका जिज्ञासाबारे आवश्यक अध्ययन र सरोकारवालासँग छलफल गरेर परियोजना अघि बढाउन पनि उनिहरुले सुझाउ दिए।

यसरी सुझाव दिइनेमा सुरेन्द्रराज पाण्डे, खिमलाल भट्टराई, कोमल वली, खेमराज नेपाली, रमेशप्रसाद यादव रामप्रीत पासवान, प्रकाश पन्थ, रामकुमार कुँवर, धनकुमारी खतिवडालगायत थिए।

बैठकमा पर्यटन मन्त्रालयअन्तर्गत पाँच वटा राष्ट्रिय गौरवका आयोजना क्रमशः भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोषको प्रगतिबारे सम्बन्धित आयोजनाका प्रमुखले सञ्चालित अयोजनाको प्रगतिबारे जानकारी गराएका थिए । रासस

प्रकाशित मिति : १५ आश्विन २०७५, सोमबार  २ : १४ बजे