भूकम्प पिडितलाई बनाइदिएका घरमा कम गुणस्तरका निर्माण सामग्री : एनआरएनले कमायो बद्नाम



१८ असोज, काठमाडौं–

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भूकम्प प्रभावित गोरखाको लाप्राकमा नमुना बस्ती बनाउन निर्माणधिन संरचनामा कमसल र गुणस्तरहिन सामान हालेपछि बिरोध शुरु भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गोरखाको लाप्राकमा नुमना बस्ती निर्माण बनाउन एनआरएनएलाई २०७३ चैत्र १० गते स्वीकृती दिएको थियो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

एनआरएनएले लाप्राकमा भूकम्प पीडितका लागि करिब ६ सय नमुना घर बनाउने घोषणा गरेको थियो । करिब ३५ करोडको लागत अनुमान गरिएको नमूना बस्तीमा सिमेन्ट, रडलगायतका सामानहरु कम गुणस्तरका हालिएपछि त्यसको बिरोध भएको हो ।

ठूलो कमिसनको खेलका कारण कम गुणस्तरहिन सामान महंगो मूल्यमा खरिद गरिएको स्रोतले बतायो । यतिसम्मकी जमेको सिमेन्ट लाप्राक पु¥याइएको भिडियो नै बाहिर आएको छ ।

त्यस्तै रड पनि गुणस्तरहिन प्रयोग गरिएको खुलेको छ । यस बारेमा एनआरएनएका अध्यक्ष भबन भट्टलाई जानकारी भए पनि उनी कानमा तेल हालेर बसेको आरोप लागेको छ ।

महंगो मुल्यमा पनि कम गुणस्तरका सामान भित्रिन थालेपछि एनआरएनएकै पदाधिकारीहरुले बिरोध जनाउन थालेका छन् ।

यतिसम्म कि सहयोग दिएका संस्थाहरुले रकम फिर्ता माग्न थालेका छन् । मुस्ताङ किदुक संस्थाले मात्र १ करोड भन्दा बढि रकम उपलब्ध गराएको थियो ।

केदुकले २ बर्षमा लाप्राक प्रोजेक्टलाई पूरा गरी लाप्राक निवासीहरुलाई भवनहरु हस्तान्तरण गर्ने गरी रकम उपलब्ध गरेको थियो ।

तर, दुई बर्षमा भवन निर्माण कार्य पूरा नभएपछि उक्त संस्थाले उपलब्ध गराएको रकम फिर्ता मागेको छ । यस बारेमा गैरआवासीय नेपाली संघको नेतृत्वले कुनै जवाफ नदिएको उक्त संस्थाका एक पदाधिकारी वताउँछन् ।

हरेक देशमा बस्ने गैरआवासीय नेपालीहरुले एक डलर, एक युरो, एक पाउण्ड, एक दिराम गरी लाप्राक नमुना बस्ती निर्माण गर्न सामूहिक प्रयास र कोशिसले यो आयोजना अगाडि बढेको थियो ।

तर, अहिले लाप्राक बेबारिसे अवस्थामा छ । गैरआवासीय नेपाली संघको नेतृत्व कहिले काहिं बिर्सिएको बेला पाहुनाको रुपमा झुल्कने गर्दछ । फोटो सेसन गरी सामाजिक सञ्जालमा रंगाएपनि कामको गति बढ्न सकेको छैन ।

अहिले लाप्राक मात्र नभई गैर आवासीय संघले सुरु गरेका मेगा प्रोजेक्टहरु समेत अलपत्र परेका छन् । गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष शेष घलेले विनाशकारी भूकम्प लगत्तै लाप्राकमा उद्धार र राहतमा आफै खटिएका थिए ।

तर, अध्यक्ष भवन भट्टले मौसमी कठिनाई, सामान ढुवानी गर्न बाटोको समस्या तथा विकटता देखाएर ढिलो भएको भन्दै पन्छने मात्र गरेका छन् ।

एकातिर अक्टोबरभित्र निर्माण सम्पन्न हुने लक्ष्यका साथ काम भइरहे पनि गुणस्तरहिन सामानका कारण आयोजनामा समस्या बढेको छ भने अर्कोतिर कहिले निर्माण सम्पन्न भई स्थानीयलाई वितरण गरिने हो अझै अत्तोपत्तो छैन ।

प्रकाशित मिति : १८ आश्विन २०७५, बिहिबार  ५ : ५७ बजे