मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस नेता रामचन्द्र पौडेल समूहको छुट्टै भेला



काठमाडौं असोज, २३–

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले छुट्टै भेला सम्पन्न गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा समूहले विधि, प्रक्रिया मिचेर नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद तोक्ने निर्णय गरेपछि पौडेलले त्यस बिषयमा छलफल गर्न आफ्नो छुट्टै भेला आयोजना गरेका हुन् ।

कांग्रेसको केन्द्रीय समिति बैठकमा सहमहामन्त्री प्रकाशशरण महतले ‘आफ्नो गुटलाई फाइदा पुग्ने खालको छुट्टै विधान मस्यौदा’ बैठकमा पेश गरी बिना छलफल पास गरेको आरोप बरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र नेता अर्जुननरसिंह केसीको छ।

देउवा समूहले पर्याप्त छलफल नगरी ३२ वर्षे उमेर हद तोकेपछि सामुहिक धारणा बनाएर असोज २५ गतेको केन्द्रीय समिति बैठकमा सहभागी हुन पौडेलसहित नेताहरू छलफलमा जुटेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए।

उनका अनुसार नेविसंघले बुझाएको विधान अलपत्र छाडेर गुटलाई फाइदा पुग्ने अर्कै विधान पेश गर्ने काम भएकोमा पौडेल लगायतका नेताहरु आक्रोशित भएका हुन् ।
बोहराटारमा भएको भेलामा पूर्वमहामन्त्रीद्वय सिंह र सिटौला, केन्द्रीय सदस्य नवीन्द्रराज जोशी र करिब १५ केन्द्रीय सदस्य थिए। नेविसंघले कांग्रेसलाई बुझाएको विधान मस्यौदामा उमेर हदबारे मौन थियो।

सभापति देउवा पक्षले भने नेविसंघको ११ औं महाधिवेशनकै बेला १२ औं महाधिवेशनदेखि ३२ वर्षे उमेर हद लाग्ने विधानमै उल्लेख भएकोले सो व्यवस्था कायम राखिएको र छुट्टै मस्यौदा पेश नगरेको बताएको छ।

नेविसंघ सभापति नैनसिंह महरले ३२ कटेका नेतालाई पार्टीले उचित सम्मान गर्दै व्यवस्थापन गर्नुपर्ने बहस चलाउनुपर्ने बताए। पार्टीले उमेरहद तोकेपछि मान्नुपर्ने उनको तर्क छ।

पौडेल निवासमा चलेको छलफलमा पार्टीको आगामी महाधिबेशनमा कसरी अघि बढ्ने भन्ने पनि बहस भएको थियो। निर्वाचनमा पराजयपछि पनि नेतृत्वमा केही सुधार नदेखिएकोले विकल्प खोज्ने छलफल भएको ती केन्द्रिय सदस्यले बताए।

कांग्रेस नेता अर्जुननरसिंह केसीले पार्टी नेतृत्व अलोकतान्त्रिक हुँदै गएको बताए। ‘पार्टी घोर अप्रजातान्त्रिक र निरंकुश हुँदै गयो। जुन दिन विधान पेश गर्ने उहि दिन पास गर्ने, छलफलका लागि समय पनि दिइएन’, उनले भने, ‘विधि, प्रक्रिया, पद्दती सबैलाई पन्छाउने प्रवृत्तिको विरोधमा छौं।’

 

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलबार  १२ : १८ बजे