काठमाडौं असोज, २४–
भोलि २५ गतेलाई बोलाईएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
पार्टीको विधान र भातृ संगठन नेविसंघको विधानबारे छलफल गर्न कांग्रेसले बैठक बोलाएको थियो । तर, संस्थापन बाहेकका अधिकांश नेताहरुले बैठक बहिस्कार गर्ने चेतावनी दिएपछि सभापति देउवाले बैठक स्थगित गरेका हुन् ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने ‘अर्को बैठकको समय निश्चित त भइसकेको छैन, सायद अब दशैं अघि बैठक बस्न सम्भव छैन’ ‘छलफल गरेर दशैलगत्तै बैठक राखिन्छ ।’
यद्यपी काँग्रेसले औपचारिक रुपमा बैठक स्थगित गरेको घोषणा भने गरिसकेको छैन ।
यसअघि आइतबार बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले भातृ संस्था नेविसंघको विधानमा ३२ वर्षे हदम्याद कायम गर्ने निर्णय पारित गरेपछि पार्टीका नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र कृष्ण सिटौलाले निर्णयमा असहमति जनाउदै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।
सोमबार सिटौला, सिंह र केसी पक्षको बैठक बसेर सभापति देउवाले पार्टीमा विधि विधान विपरित एकलौटी निर्णय गर्न थालेको भन्दै आपत्ति जनाएका थिए । त्यसै दिन उनीहरुले असोज गते २५ बस्ने बैठक बहिस्कार गर्ने घोषणा गरेका थिए ।
यसैबीच सिटौला, सिंह र केसीपक्षको दवावपछि रामचन्द्र पौडेल पक्षले समेत केन्द्रीय समिति बैठक बहिस्कार गर्ने निर्णय गरेको छ ।
बुधबार नेता पौडेलले आफू निकटका नेताहरुलाई निवासमै बोलाएर र केहीलाई टेलिफोनमा सम्पर्क गरी धारणा मागेका थिए । त्यसपछि आफू निकटका नेताहरुको सुझाव अनुसार बैठक बहिस्कार गर्ने निर्णय गरेको पौडेल निकट एक एक नेताले जनाए ।
पार्टीको विधानलाई असोज २५ गतेसम्म अन्तिम रुप दिने कांग्रेसले तयारी गरे पनि अब यो सम्भव नभएको हो ।