२४ असोज, काठमाडौं–
हिन्दु धर्मावलम्बीले आफ्ना पूजा कोठा वा घरमा विधिपुर्वक दियो कलश र गणेशको पूजा गरी जौँ वा मकै रोपेर जमरा राखी दुर्गा भवानीको आराधाना आरम्भ गरेसँगै बडादशैँ आज बाट शुरु भएको छ । पहिलो दिन आज घर–घरमा घटस्थापना गरिदैछ ।
जौँ वा मकै रोपेर जमरा राखी दुर्गा भवानीको आराधाना आरम्भ गरेसँगै बडादशैँ सुरु भएको मानिन्छ । घटस्थापनाको शुभ साइत बिहान ७ बजेर १५ मिनेटमा थियो ।
आज बिहानै नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरेर विधिपूर्वक राखेर त्यसमाथि जौ रोप्ने गरिन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले विजया दशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीकस्वरुप पहेँलो जमरा लगाउने चलन छ ।
घटस्थापनाको उपलक्ष्यमा आज काठमाडौँको हनुमान ढोका दरबारमा रहेको दशैँ घरमा वैदिक विधिपुर्वक जमरा राखी महाकाली, महालक्ष्मी, सरस्वती लगायत नवदुर्गाको पूजा गरिन्छ ।