भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुरु गर्‍यो बजार अनुगमन



 

दसैं नजीकिँदै गर्दा उपभोक्तालाई ठगिनबाट जोगाउन गर्दा सूर्यविनायक नगरपालिकाले उपप्रमुख जुना बस्नेतको नेतृत्वमा  अनुगमन शाखाका कर्मचारी, स्वास्थ्य शाखाका कर्मचारी, नगर प्रहरी र सञ्चारकर्मीसहितले अनुगमन सुरु गरेको छ।

 आज सल्लाघारी, सूर्यविनायक र चुनदेवी क्षेत्रमा खाद्यान्न, फलफूल, तरकारी र मिठाइ पसलको अनुगमन गर्दा  अधिकांश किराना पसल तथा मिनीमार्ट दर्ताबिना नै सञ्चालन गरेको पाइएको छ। सल्लाघारी क्षेत्रका ठूला र वार्षिक करोडौँका कारोबार गर्ने पसलले नै नगरपालिकामा दर्ता नगरी पसल सञ्चालन गरेको र कर छली गरेको पाइएको उपप्रमुख बस्नेतले बताइन्। ठूला किराना पसल तथा मिनीमार्टमा म्याद गुज्रेका र अखाद्य वस्तुसमेत बिक्रीमा राखेको पाइएको तथा लेवल र मूल्य सूची नराखेको पाइएकाले एक पटकलाई सचेत गराएर छाडिएको छ।

नगरपालिकाले ५ महीनाअघि पसल दर्ता अभियान नै चलाए पनि साना कारोबार गर्ने अधिकांश पसल दर्ता भएका तर ठूला र करोडौँको कारोबार गर्ने पसल दर्ता नगरेको भेटिएको नगरपालिकाका प्रमुख वासुदेव थापाले बताए। रासस

 

प्रकाशित मिति : आश्विन २६, २०७५ शुक्रबार  २ : ३६ बजे