राष्ट्रपति भण्डारीले वैदिक विधिपूर्वक आफ्नै आमा मिथिला पाण्डेबाट लगाइन शुभसाइतको टीका र प्रसाद



कार्तिक २,  काठमाडौँ —

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नै आमा मिथिला पाण्डेबाट शुभसाइत बिहान नौ बजेर ५१ मिनेटमा वैदिक विधिपूर्वक  टीका तथा प्रसाद ग्रहण गरेकी छन् ।

त्यस्तै  हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित हेमचन्द्र ढकालबाट पनि टीका तथा प्रसाद ग्रहण गरेकी छन्।

प्रतिपदाका दिनदेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाअर्चना तथा सप्तशती पाठ गरिएको हनुमानढोका दसैँघरबाट पूर्णकलशको जल, जमरा, तिलक र रक्षासूत्र ल्याइ वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आव्हान गरी स्थापना गरिएको पूर्ण कलशको जलले राष्ट्रपतिमा अभिषेक गरिएको थियो

राष्ट्रपति भण्डारीले मूल पुरोहित, राष्ट्रपति कार्यालयका पुरोहित र अन्य ब्राह्मणलाई टीका, जमरा र दक्षिणा प्रदान गरेकी छन्। राष्ट्रपति भण्डारीले छोरी ज्वाँइ उषाकिरण र उमेश थापा तथा निशाकुसुम र अभिषेक यादव तथापरिवारका अन्य सदस्यका साथै राष्ट्रपति कार्यालयका कर्मचारी, सुरक्षाकर्मी र समाचार सङ्कलन गर्न पुगेका सञ्चारकर्मीलाई पनि टीका लगाएकी थिइन्। ।  त्यसअघि राष्ट्रपति भण्डारीले दीप, कलश र गणेशको पूजा गरेकी थिइन्। रासस

प्रकाशित मिति : कार्तिक २, २०७५ शुक्रबार  ९ : ५५ बजे