कोदो,फापर, मादुरो, भटमासको खेती घट्दो, आयतित खाद्यान्नका कारण कुपोषणको खतरा बढ्दै



कार्तिक ३, काठ्मान्डौ-

मध्यपहाडी क्षेत्रमा पछिल्लो समयमा कोदो, मादुरोजस्ता पुराना बाली लोप हुन थालेका छन् । कोदो, मादुरोजस्ता बालीमा प्रशस्त मात्रामा पोषक तत्व पाइने भए पनि बालीको महत्व नबुझ्दा लोप हुन थालेका हुन् ।

केही वर्षअघिसम्म पनि सुदुरपश्चिमका पहाडी जिल्ला बैतडी, दार्चुला, डोटी, बझाङ र बाजुरालगायतका उच्चपहाडी तथा हिमाली भेगमा प्रशस्त मात्रामा कोदो र मादुरोको खेती गरिने भयपनी पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बाली लोप हुन थालेका हुन् ।

तेस्तै पुर्बी पहाडका जिल्लाहरुमा पनि कोदो, मादुरो, भटमासलगायतका बालिहरुको खेती निकै कम हुन थालेको कृषी बिशेषज्ञ हरुले बताउने गरेका छन ।

कुनै समय बैतडीका किसानको खेतबारीमा पनि प्रशस्त उत्पादन हुने कोदो र मादुरो खेती अहिले लोप भइसकेको छ । अन्नहरूमध्ये स्वास्थ्यका लागि निकै फाइदाजनक मानिने कोदो र मादुरो फलेको अहिले सायदै देख्न पाइने गरेको बैतडीको सुर्नया–३ का प्रेमसागर भट्टको भनाइ छ ।

आयतित खाद्यान्नका सामग्रीमा पोषक तत्व नपाइने भएकाले पछिल्लो समयमा बालबालिकामा कुपोषण देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले जानकारी दिए ।

कोदो, मादुरो, भटमासलगायतका बालीमा प्रशस्त मात्रामा पोषक तत्व पाइने भएपनि यसको महत्वका बारेमा जानकारी नभएको उनले बताए ।

पुराना बालीमा पाइने पोषक तत्वका विषयमा ज्ञान नहुँदा पुराना बाली लोप हुन थालेको किसान मोहनबहादुर विष्टले बताए ।धानबालीसँगै फल्ने कोदो मादुरो आजभोलि देख्नसमेत नपाइने गरेको किसानको भनाइ छ ।

समयसँगै कृषि गर्ने तरिका परिवर्तन भयो, सँगै खेती गरिने बालीनाली पनि परिवर्तन हुँदै गए । कोदो, मादुरो, जैखेतीबाट धान, मकै आदि बालीजस्तो लाभ नहुनाले पनि यी बाली लोप हुँदै गएको किसान बताउँछन् ।

त्यसैले यी परम्परागत बालीको महत्वका बारेमा जानकारी गराई यी बालीलाई व्यवस्थित तरिकाले उत्पादन, बजारीकरण र यसबाट बन्ने विभिन्न परिकारका बारेमा जानकारी गराई यस्ता बालीलाई संरक्षण गर्न जरुरी देखिन थालेको छ ।रासस

प्रकाशित मिति : ३ कार्तिक २०७५, शनिबार  १ : ४८ बजे