काठमाडौं कात्तिक, ११–
रासस
जीवन विकास समाज मोरङले दी अरब गल्फ प्रोग्राम फर डेभलमेन्ट इन्टरनेशनल प्राइज २०१७’ नामक अन्तर्राष्ट्रिय पुरस्कार पाउन सफल भएको छ । दिगो विकासका लक्ष्यमध्ये चौथो लक्ष्य पूरा गर्न उल्लेखनीय योगदान दिए बापत जीवन विकास समाज मोरङले तीन करोड रुपैया (तीन लाख डलर) राशीकाे पुरस्कार पाएकाे हाे ।
पुरस्कारका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र यहाँस्थित राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले समाजलाई सिफारिश गरेको थियो । दी अरब गल्फ प्रोग्राम फर डेभलमेन्ट (एगफण्ड)को केन्द्रीय कार्यालय साउदी अरबको रियादमा छ । सन् १९८० मा स्थापना एगफण्डमा ‘गल्फ कोअपरेशन काउन्सिल’ का ६ देश सदस्य छन् ।
विसं २०५४ मा स्थापना भएको जीवन विकास समाजले सिन्धुली, उदयपुर, सुनसरी, धनकुटा, इलाम, मोरङ, र झापा कार्यक्षेत्र बनाई शिक्षा, स्वास्थ्य, कृषि, वैकल्पिक ऊर्जा र आवास लघुवित्तजस्ता सामाजिक कार्यक्रम सञ्चालन गरिरहेको छ । अाइतबार पत्रकार सम्मेलनमार्फत ७६ देशका प्रतिस्पर्धीलाई पछी पार्दै पुरस्कार पाएकाे र प्राप्त पुरस्कार पनि समाज सेवामा लगाउने समाजले जानकारी दिएकाे हाे ।
स्पेनकी महारानी सोफिया तथा साउदीका राजकुमार तलाल विन अजिजले जेनेभामा हालै आयोजित कार्यक्रममा समाजका अध्यक्ष मण्डललाई सो पुरस्कार प्रदान गरेका थिए ।