काठमाडौं कात्तिक, १४–
अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अस्पतालबाट चाँडै नै फर्कने बताएका छन् । उनले समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने समेत प्रष्ट पारेका छन् ।
मंगलबार प्रधानमन्त्री ओलीले एक सन्देश प्रकाशन गर्दै उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् ।
“चिकित्सकहरुले मलाई दिनुभएको जानकारी अनुसार म छिट्टै नै अस्पतालबाट फर्किने छु र तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रियहुनेछु ” प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन्, “विगतमाझैं समग्र देशवासीदिदीबहिनी–दाजुभाईहरुको सहयोग र सद्भावनिरन्तर रहनेमा म विश्वस्त छु । ”
प्रधानमन्त्री ओलीले केही सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यमबाट आफ्नो स्वास्थ्यका बारेमा गरिएको प्रचारबाजीबाट प्रभावित नहुन सबैलाई आग्रह समेत गरेका छन् ।
प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन्, “सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारवाजीको मलाई जानकारी छ । यसप्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु ।”
प्रधानमन्त्री ओलीले सन्देशमा मौसमी रुखाखोकी र त्यसबाट हुनसक्ने संक्रमणको रोकथामका लागि आफूले महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइ रहेको उल्लेख गरेका छन् ।