१७ मंसिर, काठमाडौं ।
राष्ट्रीय खेल्कुद परिषद (राखेप)ले दुई तेक्वान्दो सङ्घ एक नहुदाँसम्म राष्ट्रिय खेलकूदमा तेक्वान्दोलाई सहभागी नगराउने भएको छ ।
आठौँ राष्ट्रिय खेलकूदमा समावेश ३५ खेलमध्ये २० खेलको जिल्ला छनोट शुरु भइ सक्दा पनि तेक्वान्दोको जिल्ला छनोट भने एकाएक रोकिएको छ ।
परिषद्ले लामो समयदेखि विवाद रहँदा तेक्वान्दोको खेलाडी छनोटमा अप्ठ्यारो परेको भन्दै जिल्ला छनोट रोक्न जिल्ला खेलकूद विकास समितिलाई निर्देशन दिएपछि खेलाडी छनोट रोकिएको हो ।
राखेपको ११० औँ बोर्ड बैठकले तेक्वान्दो विवाद समाधान गर्न आग्रह गर्दै दुवै सङ्घलाई एक साताको समय दिएर गत कात्तिक २७ गते दुवै सङ्घलाई पत्र पठाएको तर अहिलेसम्म दुई सङ्घबीचको विवाद मिल्न नसक्दा आठौँ राष्ट्रिय खेलकूदमा तेक्वान्दाले सहभागिता जनाउन नपाउने सम्भावना बढेर गएको राखेपले जनाएको छ ।
अहिले विश्व तेक्वान्दो महासङ्घले सम्बन्धन दिएको प्रकाशशम्शेर राणा नेतृत्वको नेपाल तेक्वान्दो सङ्घ र शिव कोइरालाको नेतृत्वमा नेपाल तेक्वान्दो युनियन दुबैले आधाकारिक भएको दाबी गरिरहेका छन ।










