मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्मला पन्त हत्या घटनाको अनुसन्धानमा कुनै दबाव दिएको छैन: प्रहरी महानिरीक्षक खनाल



काठमाडौं मंसिर, २४–

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा कुनै दबाव नदिएको बताएका छन् । घटनामा संलग्न भएका आशंका लागेकालाई पक्राउ गर्दै सोधपुछ गर्नु पर्ने भएकाले हत्यारा पत्ता लाग्न समय लागेको महानिरिक्षक खनालको भनाइ छ । आइतबार राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले निर्मला पन्तको हत्याको अनुसन्धानबारे छलफल गर्न प्रहरी महानिरीक्षक खनाललाई बोलाएको थियो । सांसदहरुले शान्ति सुरक्षाको अवस्था किन यति कमजोर भयो ? विगतमा राम्रो सफलता पाएको प्रहरी अनुसन्धान किन फितलो भयो ? निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु किन पत्ता लागेनन् जस्ता प्रश्न गरेका थिए ।

कांग्रेस सांसद रमेशजंग रायमाझी निर्मला–नमिता हत्याकाण्डमा दरबारमा मान्छे जस्तै निर्मला हत्याकाण्डमा शक्तिशाली को छन् भनेर प्रश्न गरे । उनले भने, ‘शक्तिशाली मान्छेलाई जोगाउन सरकारले प्रहरी प्रमुखलाई प्रयोग गरेको हुनसक्छ । सीआईबीले पनि प्रहरी प्रमुखको इन्ट्रेस्टमा काम गर्छ ।’

तत्कालीन डीआईजी एवं वर्तमान सांसद नवराज सिलवालले राजनीतिक प्रभावमा आफू आईजीपी हुन नसकेको भनेको भन्दै रायमाझीले खनाललाई प्रश्न गरे, ‘तपाईंले पनि आईजीपी नै परिर्वतन हुन्छ भनेर घटना उजागर नगरेको हो कि ?

सांसद प्रमिला यादवले सुरक्षा दिन नसक्ने हो भने पदबाट राजीनामा दिन आग्रह गरिन् । दक्षिण भारतीय फिल्ममा जस्तै निर्मला हत्याका दोषीलाई लुकाएर निर्दोषलाई यातना दिने काम भइरहेको भन्दै उनले यो रोक्नुपर्ने बताइन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का सांसद दिनानाथ शर्माले अपराधिक घटनामा राजनीतिकरण वा राजनीतिक प्रभाव हुन नहुने बताए । निर्मला हत्यामा पनि त्यस्तो भएको भए प्रहरी संगठन दृढतापूर्वक अगाडि आउन आग्रह गरे ।

सांसदहरुको प्रश्न सुनिसकेपछि महानिरीक्षक खनालले जवाफ दिएका थिए । सुरुमा नरम रुपमा प्रस्तुत भएका महानिरीक्षक खनाल क्रश कडा रुपमा प्रस्तुत हुँदै गएका थिए ।
उनले संसदीय समितिमा संगठन र शान्ति सुरक्षाको विषय मात्र नभई व्यक्तिगत विषय आएको भन्दै असन्तुष्टि मात्रै जनाएनन् सांसदहरुलाई समेत कडा प्रहार गरेका थिए । उनले भने, ‘मैले नै केही माननीयलाई समातेर जेलमा हालेको छु । यसको अर्थ सबैलाई अपमानित गर्न खोजेको होइन ।’
केही प्रहरी अधिकारीले गलत गर्दा सिंगो संगठनलाई दोषारोपण गर्न नहुने उनले तर्क गरे ।
त्यसपछि उनले प्रहरीले गरेका कामको फेहरिस्त सुनाए । हालै मात्र प्रहरीले ई–गुड गभर्नेन्स अवार्ड पाएको, ऐन कानुन नहुँदा पनि आपसी सम्बन्धका आधारमा नेपालमा अपराध गरेर विदेश भागेकाहरुलाई पक्राउ गरिएको उनले बताए ।

लामो समयदेखि फरार ७३२ जना पक्राउ परेको, विप्लव समूहको आतंक अन्त्य गरेको, सीके राउतको राष्ट्रविरोधी गतिनिधि न्यूनीकरण गरेको उनले सुनाए । उनका अनुसार विप्लव समूहका ३४७ र सीके राउतसहित उनका ९४ जनालाई पक्राउ गरी मुद्दा चलाएको तथा १५२ थान अवैध हतियारसहित १५० भन्दा बढीलाई पक्राउ गरेको संसदीय समितिलाई जानकारी दिए ।
प्रहरी महानिरीक्षक खनालले निर्मला हत्याबारे अनुसन्धान भइरहेको र यो साँघुरिँदै गएको बताए । तर, अभियुक्त पत्ता लाग्न कति समय लाग्छ भन्न नसक्ने बताए ।

आफू अपराध अनुसन्धान महाशाखा प्रमुख हुँदा बडीखेल घटनाका अभियुक्त १३ वर्षमा पक्राउ गरेको स्मरण गर्दै उनले भने, ‘कुनै कुनै घटनामा केही समय लाग्नसक्छ तर, हामीले अनुसन्धान नै नगरेको भन्ने होइन, काम भइरहेको छ ।’

आफूलाई कुनै दबाव नभएको र प्रहरीको अनुसन्धान कतैबाट प्रभावित नहुने उनले बताए । निर्मला हत्याको अनुसन्धान म्यानुअल्ली गर्नुपर्ने अवस्था आएको र यसमा शंकास्पद व्यक्तिलाई सोधपुछ गर्नुको विकल्प नभएको भन्दै खनालले भने, ‘सहज अनुसन्धानका लागि वातावरण बनाइदिन आग्रह गर्छु ।’

आईजीपी खनालले आफूलाई दबाव नआएको मात्र होइन, आफूले पनि दबाव नदिएको स्पष्ट पारे । सीआईबीलाई आईजीपीले दबाव दिएको सांसदको टिप्पणीमा उनले भने, ‘मैले अहिलेसम्म दबाव दिएको पनि छैन, दिने पनि छैन ।’

अनुसन्धानमा इलाका प्रहरी, जिल्ला, संघीय प्रहरी, प्रदेश लगायतका थुप्रै तह हुने भन्दै उनले भने, ‘मैले चाहेर पनि कसैलाई लुकाउन दबाव दिन सक्ने अवस्था हुँदैन । यदि दबाव दिएको भेट्टाउनुभयो संसदबाट मेरो बर्दी फुकालिदिनुस् ।’

प्रकाशित मिति : २४ मंसिर २०७५, सोमबार  १ : ५२ बजे