मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खानेपानी मन्त्रालयमा हुकुमी शाषन जमाउदै मन्त्री बिना मगर



२५ मंसिर, काठमाडौं–

खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगरले मन्त्रालयमा हुकुमी शासन थालेकी छन् । पूर्वमाओवादीमा हिँड्दा सैनिक हिरासतमा परेको गीत गाउने मन्त्री मगरले सैन्यतन्त्र भन्दा पनि कठोर व्यवाहार मन्त्रालयमा देखाउन थालेकी छन् । उनको एकतन्त्रीय शासनले मन्त्रालयका बरिष्ठ अधिकारीदेखि कनिष्ठ कामदारसम्म आजित भएका छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

पति प्रकाश दाहालका कारण नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा तेस्री बुहारी बनेकी बिनाले राजनीतिक मुनाफामा मन्त्री पद हत्याउन सफल भइन् । त्यसपछि उनले आफ्नो निजीतन्त्रलाई खप्नै नसक्ने गरी चलायमान बनाएकी छन् । उनको शासनको जाँतो पिँधाईमा परे खानेपानी संस्थानका महाप्रबन्धक भुपेन्द्र प्रसाद । केही गल्ती कमजोरीका आधारहरू फेला नपरेपछि ‘झूठा विवरण’ तयार पारेर प्रसादलाई संस्थानको जिम्मेबारीबाट धम्कीपूर्ण हिसाबले मंसिरको दोस्रो साता हटाइयो ।

मन्त्री मगरले सचिव गजेन्द्र ठाकुर र सहसचिव शंकरप्रसाद सुवेदीलाई बोलाएर प्रसादलाई संस्थानबाट तुरून्त हटाउनका लागि ठाडो आदेश दिइन् । कर्मकाण्डको लागि एउटा बैठक पनि डाकेर निर्णय गराइन् । १९ मंसिरमा सुवेदीले प्रसादका नाममा एउटा पत्र लेखे र १८ मंसिरको मन्त्रिस्तरीय निर्णयको जानकारी गराएर मन्त्रालयमा हाजिर गर्न लगाए । उनको ठाउँमा मन्त्रालयका उपसचिव लिलानाथ ढकाललाई महाप्रबन्धक तोकियो । सुवेदीको पत्रमा भनिएको छ,‘नेपाल सरकार माननीय मन्त्रीस्तरीको मिति २०७५/८/१८ को निर्णयानुसार तपाईलाई अर्को निर्णय नभएसम्मका लागि खानेपानी मन्त्रालयमा हाजिर भई कामकाज गर्न तोकिएको छ ।’ चलानी नम्बर ३३५ को पत्र जारी गरिएको छ ।

नेपालगञ्ज र बुटवल झुम्सा खानेपानी आयोजनामा भ्रष्टाचार गरेको भन्ने झूठो अभियोग लगाएर प्रसादलाई मन्त्रालयमा तानिएको हो । जबकि, उक्त आयोजनाको काम सुरू भए पनि मन्त्रालयबाट रकम भुक्तानी भएको छैन । यो आरोप लगाउँदै मन्त्री मगरले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पनि पत्र लेखेकी थिइन् । जसमा केही नभेटिए पछि अख्तियारले फाइल थन्काएको थियो । उक्त आयोजनाका विषयमा संस्थानको महाप्रबन्धकका हिसाबले प्रसादले छानबिन गरी मोटो प्रतिवेदन तयार पारेका थिए ।

आयोजनाका लागि खरिद सम्बन्धी विषयमा भ्रष्टाचार भएको भनी मन्त्रालयबाट मन्त्री मगरका मान्छेले अख्तियारमा उजुरी दिएका थिए । जसको जवाफ प्रसादले १५ साउनमा नै अख्तियारमा पठाइसकेका थिए । डिआई पाईप तथा फिटिङ्स खरिदको छानबिन कमिटीको तथ्यामा आधारित प्रत्युत्तर प्रसादले लेखेका थिए । उक्त प्रत्युत्तरको बोधार्थ खानेपानी मन्त्रालय र अख्तियारमा पनि सुरक्षित छ । जसमा उल्लेख गरिएका तथ्यको विवरण जनप्रहारसँग पनि सुरक्षित छ ।

त्यसो त प्रसादलाई त्यसअघि नै हटाइएको थियो । उनले सर्वोच्च अदालतमा प्रधानमन्त्री, मन्त्रिपरिषद्को कार्यालयवरूद्ध रिट दायर गरेका थिए । उनलाई हटाउनका लागि मन्त्री मगरको पहलमा सचिवस्तरको एकल निर्णय भएको थियो । गएको २४ असारमा पदमुक्तको निर्णय भएपछि सर्वोच्च अदालतले तत्काल उक्त निर्णय कार्यान्वयन नगर्नु भनी सरकारका नाममा अन्तरिम आदेश जारी गरेपछि प्रसाद काम गर्दै आइरहेका थिए ।

३१ असारमा सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाहीले उक्त आदेश दिएका थिए । त्यसमा मन्त्री मगरको केही सीप नलागेपछि ५ महिनापछि प्रसादमाथि शक्तिको दुरूपयोग गरिन् । त्यतिमात्र होइन तत्कालिन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश मिरा खड्काको संयुक्त इजलाशले पनि अन्तरिम आदेश कार्यान्वयनका सबालमा उत्प्रेषणको आदेश १२ मंसिरमा जारी गरेको थियो । तर मन्त्री मगर यसमा पनि रोकिइनन् ।

सचिवलाई काखा, कर्मचारीलाई पाखा

नेपालीमा उखान छ– छोरालाई काखा, छोरीलाई पाखा ! ठ्याक्क यहि शैलीमा मन्त्री मगर अघि बढेकी छन् । आफ्नो सहजताका लागि केही समय अघि उनले मन्त्रालयमा सचिव गजेन्द्र ठाकुरको सरूवा गराइन् । ठाकुर मन्त्रालयमा आएपछि मन्त्री मगरको शासनले प्रशासनिक रूपमा पनि कार्यान्वयनको खुकुलो बाटो पायो । ठाकुरसँगको सल्लाहका आधारमा नै मन्त्रालयभित्र हुने ‘अनैतिक आम्दानी’को बाटो र कर्मचारी सरूवाको उपाय उनले पाउन थालिन् ।

त्यसपछि उनले ठाकुरको सहयोगमा बरिष्ठ कर्मचारीहरूलाई कोखामा प्रहार गर्ने बाटो पाइन् । मन्त्रालय अन्तर्गतको खानेपानी संस्थानमात्र होइन, खानेपानी तथा ढल सरसफाई विभागका महानिर्देशक, विभिन्न परियोजनाका निर्देशकहरूलाई पनि उनको डण्डा चल्न थाल्यो । बोलेको काम पुरा गर्नु त कता हो कता आफ्ना नजिककालाई जिम्मेबारी दिएर उनी ‘आत्मरती’मा रमाउन थालेको मन्त्रालय स्रोतले बतायो । उसले भन्यो,‘सचिव, केही निजी मान्छेसँग बसेर दनादन कानुनविपरित र न्यायविपरितका निर्णयमा मन्त्री हावी हुन थालिन् । शक्तिको दुरूपयोग गर्न थालिन् ।’

यसक्रममा विभागका महानिर्देशक तेजराज भट्टलगायतका अन्य कर्मचारीलाई मन्त्रालयमा तानेकी उनले सचिव ठाकुरको सिफारिसमा आन्तरिक लाभ लिएर इन्जिनियर सुनिल दासलाई विभागमा पठाइन् । दासलाई उनको ठाडो आदेश पनि थियो– त्यहाँका पुराना करारका कर्मचारीजति सबैलाई हटाउनू र मैले सिफारिस गरेका हाम्रा मान्छे राख्नू !
दासले अहिले विभागमा रहेका झन्डै तीन सय करारका कनिष्ठ तहका कर्मचारीलाई राजीनामा दिनका लागि दबाबमा पारेका छन् ।

विभागका अन्य कामभन्दा पहिला करार कर्मचारी लखेट्ने काममा मन्त्रीको ‘यसम्यान’ भएर दासले काम थालेका हुन् । कनिष्ठ करारका कर्मचारीहरूमा कार्यालय सहायक, सवारी चालक, चिया पकाउने, झाडु लगाउने, कार्यालय पुच्छ्नेसम्म परेका छन् । तिनलाई हटाएर पूर्वमाओवादीका कार्यकर्ता, उनले सिफारिस गरेका व्यक्तिलाई मन्त्री मगरले विभागमा जागिर लगाउने तयारी गरेकी छन् । एक कनिष्ठ कर्मचारी भन्छन्,‘हामी २० बर्षदेखि यहाँ कार्यरत छौं । हामीले केही नचाहिँदो काम पनि गरेका छैनौं, हामीलाई हटाएर हाम्रा बालबच्चा कसले पालिदिन्छ ?

प्रकाशित मिति : २५ मंसिर २०७५, मंगलबार  ३ : ३९ बजे