२८ मंसिर, काठमाडौं–
२२ मंसिरको सचिवालय बैठक नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल तथा पार्टी पंक्तिको निम्ति सम्भवतः अप्रत्याशित रहयो। वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बैठक बहिस्कार गरे। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
नेतृत्वमा बैठकप्रति देखिएको उदासिनता, विधि प्रक्रिया नमानिएको भन्दै उनीहरूले आरोप लगाउँदै आएका थिए। बैठक बहिस्कारमा ‘समय पालना’लाई कारण देखाए पनि उनीहरूले अन्य कारण खुलाएका छैनन्।
घटनाको भोलिपल्टै २३ मंसिरमा नेपाल–खनाल पक्षले आफूनिकट स्थायी समिति बैठक बोलाउन गरेको ‘प्रयास’ २९ मंसिरमा बोलाएर ओली–दाहालले तुहाइदिए। यसपछि ओली–नेपालबीच दूरी अझै बढेको छ। प्रदेश कमिटी पदाधिकारी चयनदेखि नै तत्कालीन एमालेका ओली र नेपाल खेमाबीच असमझदारी बढ्दै गएको छ।
एउटै विमानका दुई पाइलटमध्ये एक ९ओली०को ‘कमान्ड’ हल्लाउन नेपाल, खनाल र गौतमको ‘विपरीत ध्रुवको गठबन्धन’ भएको छ। यो गठबन्धन आगामी स्थायी समिति बैठक पर्खेर बसेको छ।
तत्कालीन माओवादी खेमाका स्थायी समितिका केही सदस्यलाई आर्कषित गरेर ओली खेमासँग जुध्ने योजनामा यो गठबन्धन प्रयासरत देखिएको छ।
स्थायी समिति बैठक आह्वानपछि कोठबैठकमा व्यस्त यो समूहका नेता ओलीलाई गलाउने रणनीति बनाउन कसरत गरिरहेका छन्।
पूर्व एमालेमा प्रष्टै दुई खेमा देखिए पनि तत्कालीन माओवादीभित्र भने नेताहरू दाहालकै वरिपरि देखिएका छन्। यसले गर्दा बैठकमा उनको भूमिका महत्वपूर्ण हुने ठानिएको छ।
नेपाल पक्षका नेताहरूको बुझाइमा पार्टीमा सन्तुलनकारी भूमिका खेल्न नसक्ने, आफ्नो गुटको मात्र संरक्षण गरी विरोधी पेल्ने र विधि नमान्ने नेता हुन्– ओली। त्यसैले पनि नेपाल पक्षधर नेताहरू प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीमाथि मुख्यतः विधि–प्रक्रिया मिचेर निर्णय लिन थालेको, स्वेच्छाचारी र अहंकारी बनेको, गुटबन्दीलाई प्र श्रय दिएको जस्ता आरोप लगाइरहेका छन्।
नेपाल पक्षका एक नेताले भने, ‘अबको स्थायी समिति बैठकमा सचिवालयले मनोमानी ढंगले गरेका निर्णय बदलेर अधिकार स्थायी समितिमा ल्याउने तयारीमा हामी लागेका छौं।’
पदीय मर्यादामा विमति रहेको र असन्तुष्टि जनाइरहेका वरिष्ठ नेता खनाल र नेपालबीचको एकता र त्यसमा सचिवालय सदस्य गौतम समेत ओली क्याम्प छाडेर मिसिन आएपछि ओली क्याम्पमा हलचल आएको छ। यी तीन नेतालाई मिलाउन घनश्याम भुषाल, योगेश भट्टराईलगायतको भूमिका अहं देखिएको छ। नेपाल पक्षले गरेको तयारीले स्थायी समिति बैठकमा हलचल ल्याउन सफल हुन्छ वा सामसुम हुन्छ हेर्न बाँकी छ ।