युवाहरुको नेतृत्वमा मात्र पार्टी सक्षम बन्ने धारणा सहित कांग्रेस युवा नेताहरुले मागे शिघ्र महाधिबेशन



५ पुस, काठमाडौं–

कांग्रेसका १२ युवा केन्द्रीय सदस्यले शीघ्र महाधिवेशनको माग गरेका छन् । महासमितिलगत्तै १४ औं महाधिवेशनको प्रक्रिया अघि बढाइनुपर्ने उनीहरूको माग छ ।

केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ, रामकृष्ण यादव, रत्न शेरचन र किरण यादवले निर्वाचन समीक्षा र आगामी कार्यदिशाको सन्दर्भमा ८८ पृष्ठको लिखित धारणा बुधबार महासमिति बैठकमा प्रस्तुत गरेका हुन् ।

काँग्रेसको नेतृत्व युवाहरुको काँधमा गएमात्र समयअनुकुल पार्टी बन्न सक्ने दस्ताबेज सहित १२ युवा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा सार्बजनिक गरेका हुन ।

‘अब के हो त पार्टीको ध्येय? समुन्नत नेपाल निर्माण पार्टीको ध्येय हो। तर, समुन्नत नेपाल कस्तो हुन्छ? संविधानको प्रयोग जसरी गरिएको हुन्छ, राज्यको चरित्र कस्तो, समाजको व्यवहार कस्तो, राज्य र व्यक्ति बीचको सामान्जस्यता र सम्बन्ध कस्तो हुने यी लगायत थुप्रै विषय अनुत्तरित छन्। यो दृष्टिकोणका आधारमा कम्तिमा २० वर्षका लागि नयाँ कार्यक्रमको विस्तृत खाका तयार गर्न जरुरी छ। यसको आधार तयार गर्न पनि महासमिति बैठक अपरिहार्य छ’, प्रतिवेदनमा प्रस्ताव गरिएको छ।

‘२०४८ सालयता जसरी विचार र संगठनमा ढोका बन्द भए, त्यसरी नै नेतृत्वमा रहेका पुराना मान्छेको स्वाभाविक बहिर्गमन र नयाँ मान्छेको आगमन नहुँदा एजेन्डा, विचार र क्षमताको दृष्टिले पार्टी जमेको पोखरीजस्तो भएको छ’

‘देशमा ७ सय ५३ स्थानीय सरकार बने, ७ प्रदेश सरकार बनिसक्यो, १ सय ६५ संघीय क्षेत्र र ३ सय ३० प्रादेशिक क्षेत्र बने, वडाहरू नयाँ बनेका छन्,’ उनीहरूको भनाइ छ, ‘अहिलेको विधानअनुसार ७ प्रादेशिक समितिबाहेक हामी अहिले केही बनाउन सक्दैनौं । सबै तदर्थ समिति बनाएर चलाउनुपर्ने हुन्छ । यसले पार्टीलाई नवजीवन दिन सक्दैन, थप क्षति मात्रै हुन्छ ।’

‘महासमिति बैठकबाट संशोधित विधान पारित गरी शीघ्र महाधिवेशनमा जानुपर्छ, साथै महासमितिले पार्टीलाई जुन कार्यक्रम दिन्छ, त्यसैलाई ग्रहण गर्दै उपयुक्त बनाएर पार्टीलाई हाँक्छु भन्ने नेतृत्व पनि पार्टीले पाउँछ,’ १२ केन्द्रीय सदस्यको सामूहिक माग छ, ‘अहिलेको उचित बाटो भनेको महासमितिलगत्तै १४ औं महाधिवेशनको तालिका बनाएर काम गर्नु हो भन्ने युबा नेताहरुले प्रस्ट पारेका छन ।

प्रकाशित मिति : ५ पुस २०७५, बिहिबार  ६ : २९ बजे