गोगंबुको एक गेष्ट हाउसबाट ३ महिलासहित ९ जना गहना चोर पक्राउ



काठमाडौं पुस, १०–
प्रहरीले चोरीमा संलग्न भएको आरोपमा ३ महिलासहित ९ जनालाई पक्राउ गरेको छ । सोमबार साँझ महानगरीय प्रहरी वृत, महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले नयाँबसपार्क गोगंबुस्थित बैंकुण्ठ गेष्ट हाउसबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले गेष्ट हाउस नजिकैबाट शंका लागेर एक व्यक्तिलाई सोधपुछ गर्दा वर्ष २१ का चाइनिज भनिने सुमन थापालाई पक्राउ गरेको थियो । शंका लागे उनीमाथि खानतलासी गर्दा उनको साथबाट प्रहरीले चोरीको सुनका गहना फेला पारेको जनाएको छ । उक्त घटना लगत्तै थापालाई केरकार गर्दा गेष्ट हाउसमा थप केही साथीहरु रहेको बताएका थिए ।

गेष्ट हाउसको ३०१ कोठा नम्बरमा पुगेर जब प्रहरीले ३ महिलासहित ७ जनालाई नियन्त्रणमा लियो त्यसपछि अर्को नयाँ रहस्य खुल्यो ।

उनीहरु सातैजना चोरी कार्यमा संलग्न रहेको पाइएको र चोरीका गरगहना काठमाडौं महानगरपालिका–१६ स्थित कुमारीस्थानमा रहेको एक सुनचाँदी पसलमा बेच्ने गरेको खुल्न आयो । उक्त सुनचाँदी पसलमा बेच्ने गरेको पाइएपछि प्रहरीले पसलकी सञ्चालिका सबिता सुनारलाई समेत नियन्त्रणमा लिई सोधपुछ गरेको छ ।

सबिताको सूचनाको आधारमा प्रहरीले चोरीका गहना किन्ने कार्यमा संलग्न गौतम मन्ना नाम गरेका भारतीय नागरिकलाई पनि नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत, महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाईले ९९९९ गोल्डेन अर्नामेन्ट एन्ड ज्वेलरीमा कार्यरत गौतम मन्नालाई ६२.२० ग्राम सुनसहित पक्राउ गरिएको जानकारी दिए ।

उनले पक्राउ परेका सबैलाई हिरासतमा लिई थप अनुसन्धान भइरहेको पनि बताए ।

प्रकाशित मिति : पुस १०, २०७५ मंगलबार  ११ : ४८ बजे