काठमाडौं पुस, ११–
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आफूलाई पदको लोभ नभएको बताएका छन् । अध्यक्ष झाले आफूले सरकारलाई असजिलो बनाएर पदमा बसिरहने लोभ नभएको बताएका हुन् ।
उनले भने,‘मलाई कुनै पदको लोभ छैन । काम गर्न पाए हुन्छ । मेरो कारणले यदि सम्मानीय प्रधानमन्त्री र मन्त्रीज्यूहरुलाई समेत बद्नामी हुन्छ भने म यो पद जुनसुकै बेला छोड्न पनि तयार छु ।’
बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष झाले भने,‘म जागिर गरेर तलबमात्रै खाएर बस्ने मान्छे होईन, म त काम गर्ने मान्छे हुँ । म सर्भिस डेलिभर गर्न चाहन्छु । म पनि स्वतन्त्र नागरिक हुँ । मेरोपनि मान, सम्मान र सामाजिक र पारिवारिक प्रतिष्ठा छ । मेरो प्रतिष्ठामाथि आँच पुर्याउनेगरि नेताज्यूहरुले बोल्नुभन्दा अगाडि कमसेकम अध्ययन गरिहाल्नुहोस्। कसैलाईपनि आरोप लगाउँदा अन्याय नहोस् भनेर सोच्नुपर्छ ।’
उनले आफूले यसरी अहोरात्र काम गर्दापनि बिना कुनै कारण सत्तारुढ दल नेकपाका नेताहरुको राजनीतिक झगडामा आफूलाई मुछेर चरित्र हत्या गर्ने प्रयत्न भएकोमा उनले आपत्ति जनाए ।
तर, एकजना पूर्वमन्त्रीले मलाई प्रभाव पार्न दिगम्बर झा आउनुभएको थियो भनेर तपाईमाथि गम्भिर आरोप लगाउनुभएको थियो नि रु भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने,‘२०६८ सालमा उहाँ मन्त्री हुनुभएको थियो । म त्यो बेलामा आयल निगमबाट निस्किएको थिएँ । दुई कार्यकाल पुरा गरेर म निस्किएको थिएँ । मैले उहाँलाई त्यो बेलामा यदि कुनै प्रकारको प्रलोभन वा घुस नै दिन गएको थिएँ भने उहाँले मलाई त्यही बेला समात्न सक्नुहुन्थ्यो किनकी उहाँसँग त पुलिस थियो । अंगरक्षक थियो । दोस्रो कुरा, ठीक एक वर्षपछि उहाँकै पार्टीका नेता बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला उहाँले मलाई अध्यक्षमा नियुक्ती गर्नुभयो । त्यो बेलामापनि उहाँ बोल्न सक्नुहुन्थ्यो नि । तर, ७ वर्षपछि उहाँले बिना आधार, बिना कुनै कारण यो आरोप लगाउनुभयो । यो पनि असाध्यै आपत्तिजनक छ । यो मेरो मानहानीको खिलाफ हो ।’
आजसम्म आफूमाथि कुनै आरोप, लाञ्छना, काण्ड र भ्रष्टाचारको आरोप नलागेको झाले स्पष्ट पारे । उनले भने,‘यहाँसम्म की मलाई अहिलेसम्म कुनै बयानपनि लिईएको छैन् । म दोस्रोपटक प्रतिष्पर्धाबाट आएको हुँ । कसैको कृपाले आएको होईन । देउवा सरकारको पालमा त मलाई राम्रो काम गरेको भनेर अर्को पटक समय थपेको हो ।’
आफू कुशल, योग्य र कर्तव्यनिष्ठ प्रशासक भएकोले नै बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा प्राधिकरणको अध्यक्षमा नियुक्ती दिएको पनि झाले दाबी गरे ।
वर्तमान सरकारले खुल्ला प्रतिष्पर्धामार्फत उक्त रिक्त पदकोलागि विज्ञापन गरेपछि आफूले पनि प्रतिष्पर्धा गरेको र पहिलो नम्बरमा नाम निस्किएको उनले जनाए ।
नेकपाको स्थायी समितिको बैठकमा समेत विभिन्न नेताहरुले आफूलाई गलत आरोप लगाएको कुरा मिडियामार्फत बाहिर आएकोमा टिप्पणी गर्दै उनले यसले आफू मर्माहत भएको र खिन्न भएको गुनासो पोखे ।
आफूले ग्रामिण क्षेत्रमा बसोबास गर्ने सबैमा ईन्टरनेटको पहुँच पुर्याउनको लागि काम गरेको पनि उनले सुनाए । उनले भने,‘सबै गाउँमा ब्रोडब्याण्ड ईन्टरनेटको पहुँच स्थापित गर्नको लागि काम गरेको छु । डिजिटल लिटरेसीको कार्यक्रम अघि बढाएको छु ।’
नेपालको आफ्नै ‘स्याटलाईट’ हुनुपर्छ भनेर सोहीअनुसारको काम पनि आफूले अघि बढाएको झाले जनाए । नेपाललाई नविनतम प्रविधिबाट बञ्चित गर्नु हुँदैन भनेर ‘फोर–जी’ ल्याएको पनि उनले सुनाए ।
उनले भने,‘अब फाईभ–जी कसरी ल्याउने भन्नेतिरपनि लागिरहेको छु ।’ ‘मोवाईल डिभाईस म्यानेजमेन्ट सिष्टम’ र ‘ईन्टरनेश्नल कल मनिटरिङ’ जस्ता धेरै काम आफूले प्राधिकरणबाट अघि बढाएको उनले फेहरिस्त पेश गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘डिजिटल नेपाल’ को सपना साकार पार्नको लागि आफू अहोरात्र खटिरहेको पनि उनले विश्वास दिलाए ।
अहिलेसम्म ६ वटा सेवाप्रदायक रहेको सुनाउँदै झाले तीमध्ये नेपाल टेलिकम र एनसेलबाहेक अरुको त्यति सिम वा उपभोक्ता नभएको स्पष्ट पारे । उनले भने,‘म यो सेक्टरलाई सफा गर्न तल्लिन छु । क्लिन द गार्वेज गर्छु । लाईसेन्स होल्ड गर्ने र विक्रि गर्ने काम अब हुँदैन् । यिनीहरुलाई सफाया गर्छु । र नयाँ सेवाप्रदायक पनि ल्याउनेमा लागिपरेको छु।