मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिगम्बर झाले दिए दुरसञ्चार प्राधिकरणको अध्यक्षबाट राजीनामा



काठमाडौं पुस, ११–
नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रमुख झाले आफ्नो पदबाट राजीनामा दिएका हुन् । सूचना तथा संचार मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता गोकुल बाँस्कोटालाई उनले आफ्नो राजीनामा पत्र बुझाएका छन् ।

गत वैशाख १५ गते झालाई पत्र पठाएर प्रशासनिक बाहेक कुनै पनि काम नगर्न सरकारले निर्देशन दिएलगत्तै सरकारले झाको नियुक्ति रद्द गरिदिएको थियो ।

तर, उनै झालाई सरकारले पुनः गत भदौ २१ गते प्राधिकरण प्रमुखमा नियुक्ति गरेको थियो । गत असार २१ गते भदौपछिका शेरबहादुर देउवा सरकारले गरेका सबै नियुक्ती खारेज गर्ने सरकारले निर्णय गरेसँगै झा पनि बर्खास्तीमा परेका थिए ।

उता, आजै बिहान मात्र बसेको नेकपा स्थायी कमिटीमा पनि झाको राजीनामा विषयले चर्चा पाएको थियो । अध्यक्ष प्रचण्डले बोल्दाबोल्दै झाको राजीनामाको विषय बैठकमा पुगेको नेकपानिकट स्रोतले बताएको छ ।

यस्तै, आजै झाले पत्रकार सम्मेलन गर्दै आफूलाई पदको लोभ नभएकोले सरकारलाई असजिलो बनाएर आफू पदमा नबस्ने घोषणा गरेका थिए ।

उनले भनेका थिए, ‘मलाई कुनै पदको लोभ छैन । काम गर्न पाए हुन्छ । मेरो कारणले यदि सम्मानीय प्रधानमन्त्री र मन्त्रीज्यूहरुलाई समेत बद्नामी हुन्छ भने म यो पद जुनसुकै बेला छोड्न पनि तयार छु ।’

‘म जागिर गरेर तलबमात्रै खाएर बस्ने मान्छे होईन, म त काम गर्ने मान्छे हुँ । म सर्भिस डेलिभर गर्न चाहन्छु । म पनि स्वतन्त्र नागरिक हुँ । मेरो पनि मान, सम्मान र सामाजिक र पारिवारिक प्रतिष्ठा छ । मेरो प्रतिष्ठामाथि आँच पुर्याउनेगरि नेताज्यूहरुले बोल्नुभन्दा अगाडि कमसेकम अध्ययन गरिहाल्नुहोस् । कसैलाई पनि आरोप लगाउँदा अन्याय नहोस् भनेर सोच्नुपर्छ,’ उनले पत्रकार सम्मेलनमा बोलेका थिए ।

यसैगरी केही दिनअघि सत्तारुढ दलका ४२ जना नेताहरुले विवादास्पद पृष्ठभूमि भएका व्यक्ति दिगम्बर झालाई राजनीतिक नियुक्ति दिइएको भन्दै आलोचना गरेका थिए । उनीहरुले पार्टी अध्यक्षद्वयलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

उनीहरुले बुझाएको पत्रमा दिगम्बर झा जस्ता भ्रष्टलाई राजनीतिक नियुक्ति गरेको र सरकारको सिफारिसमा राष्ट्रपतिबाट भ्रष्ट र विवादित व्यक्तिहरुलाई विभूषित गरेको भन्दै आपत्ति जनाएका थिए ।

प्रकाशित मिति : ११ पुस २०७५, बुधबार  २ : ०३ बजे