काठमाडौं पुस, १२–
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीसँग असमझदारी बढाउने पक्षमा आफू नरहेको स्पष्ट पारे। पार्टी एकता सुरु भएदेखि नै त्यसो हुन नदिन विभिन्न प्रलोभन, धाकधम्की आएको प्रसंग पनि उनले सुनाए ।
तर यसमा आफू सचेत रहेको उनको भनाइ थियो। ‘कहिलेकाहीं प्रधानमन्त्री भएका अध्यक्षलाई अर्कोले चलाउनु पर्ने हुन सक्छ। यसमा म एकदमै सचेत छु,’ दाहालले भने, ‘कहिलेकाहीं नखाएको विष लाग्छ, सहनुपर्छ।’ अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
उनले पार्टी र आन्दोलन व्यवहारवाद र संशोधनवादमा फस्ने खतरा औँल्याए। ‘हामीकहाँ अहिले संसदीय राजनीति हावी छ। संसद्मा सत्ता र प्रतिपक्ष भएकोले होला, पार्टी राजनीतिभित्र पनि त्यसको प्रतिबिम्ब देखिएको छ। हामी त्यसवाट सचेत बन्न आवश्यक छ,’ उनले भने, ‘व्यवहारवाद र संसोधनवादमा फस्ने खतराबाट जोगिनु आवश्यक छ।’
दाहालको प्रस्ताव र अभिव्यक्तिबाट आफूहरु उत्साहित भएको नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले बताए। ‘उहाँले बैठकमा जे राख्नुभयो, यसले समस्या समाधानको बाटो बोकेर आएको छ। हामी उत्साहित छौं,’ उनले भने।
दाहालका तीन प्रस्ताव
१. एक महिनामा एकीकरण टुंग्याउने – पार्टी एकताको बाँकी काम (केन्द्रीय विभाग, आयोगहरु, प्रतिनिधि परिषद, जिल्लादेखि गाउँ कमिटी र जनवर्गीय संगठन) पूरा गर्न स्थायी समिति सदस्य समेत रहेको छुट्टै कार्यदल बनाई एक सातासम्म गृहकार्य गर्ने। त्यसपछि स्थायी समितिबाट अनुमोदन गराएर एक महिनाभित्र एकीकरण सम्पन्न गर्ने।
२. प्रतिवेदन परिमार्जन गर्ने – ओली–दाहालको राजनीतिक प्रतिवेदनमा नेताहरुले उठाएका सुझाव, टिप्पणी र आलोचनालाई समेटेर प्रतिवेदन परिमार्जन गर्ने जिम्मा दुई अध्यक्षले नै लिने।
३. सरकार चलाउने संयन्त्र बनाउने स् पार्टी र सरकारलाई अलग होइन, द्वन्द्वात्मक सम्बन्धका आधार चलाउने। केन्द्रदेखि स्थानीय तहसम्मै सामूहिक नेतृत्वमा जाने र सरकार सञ्चालन गर्न पार्टीले सस्थागत संन्यत्र निर्माण गर्ने।