काठमाडौं पुस, १३–
विवादास्पद एसिया प्यासिफिक समिटको बिषयमा सत्तारुढ दल नेकपा भित्रको चर्काचर्की अझैं सेलाएको छैन । त्यही बिषयमा नेकपाको स्थायी कमिटी बैठकमा चर्को बहस भएको छ ।
बहुसंख्यक नेताहरुले नेतृत्वले आत्मालोचना गर्नुपर्ने माग राखेपछि वक्तव्य जारी गर्ने सहमति भएको छ । यद्यपि, त्यो बिषयमा आत्मालोचना भने नहुने नेकपाका एक नेताले बताए । जारी स्थायी कमिटीमा अधिकांश नेताहरुले एसिया प्यासिफिक समिटलाई लिएर सरकार र पार्टी नेतृत्वको आलोचना गरेका थिए । नेतृत्वले आत्मालोचना गर्नुपर्ने उनीहरुको माग थियो ।
तर, बिहीबार जवाफ दिने क्रममा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले यसबारे बोलेनन् । शुक्रबार पनि जवाफ नदिएपछि नेता भीम रावलले नेतृत्वले आत्मालोचना गर्नुपर्ने अडान राखे । रावलको अडानले बैठकको माहौल हल्लाखल्ला भयो ।
बैठकमा अध्यक्ष प्रचण्डले ‘कम्युनिष्ट पार्टीले सबै धर्मको सम्मान गर्छ, कुनै जाति र धर्म विशेषको होइन’ भन्दै पार्टीले वक्तव्य दिन्छ भन्दै रावललाई थुमथुम्याउने प्रयास गरे ।
यसको जिम्मा सुवास नेम्वाङ र रघुजी पन्तलाई दिए । एक नेताले भने, ‘कम्युनिष्ट पार्टीले सबै धर्मको सम्मान गर्छ, कुनै जाति र धर्म विशेषको होइन । एसिया प्यासिफिक समिटका क्रममा सरकार र संसदको लागो प्रयोगलाई लिएर प्रश्न आएको भन्दै आउँदा दिनमा सावधानी अपनाउने भन्ने आउनसक्छ ।’
रावलले भने फरक मत राख्ने बताएका छन् । बैठक सकिएपछि पनि अध्यक्ष प्रचण्डले रावललाई सम्झाएको भन्दै एक नेताले भने, ‘अब फरक मत चाहिँ रोकिएला कि रु’