७ महिना देखी बन्धक बनाइएका ९ नेपाली चेलीको उद्दार



कपिलवस्तु-

खाडी मुलुकमा रोजगारी लगाइदिने बहानामा बन्धक बनाइएका  नौ नेपाली महिलालाई उद्धार गरिएको छ । खाडी मुलुक लैजाने उद्देश्यले भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जको रिङ्गो होटलमा महीनौदेखि राखिएका नौ महिलाको उद्धार गरिएको हो ।

सात महीनादेखि  बन्धक बनाइएका  उनीहरुलाई  कपिलवस्तुको कृष्णनगर नाकाबाट  स्वदेश फिर्ता गरिएको हो । रसुवा, सुनसरी, मोरङ, दाङ, पाल्पा, रुपन्देही र बागलुङका महिलाको उद्धार गरिएको हो ।

केआई नेपालको प्रयासमा बिहीबार महिलाको उद्धार गरी परिवारमा पुनर्मिलन गराइएको छ । नेपालको सुनौली तथा काँकडभिट्टा सीमानाकाको प्रयोग गरी सामान किन्न तथा घुम्न जाने भनी झुटो बोल्न लगाई सीमापार गराइएको बताइएको छ ।

भारतमा लगेर भारतीय दलालले होटलको एक कोठामा राखी बन्धक बनाएको महिलाको भनाइ छ । केआई नेपाल दिल्लीस्थित प्रतिनिधि नवीन जोशीले दिएको जानकारीअनुसार विभिन्न सात जिल्लाबाट फरकफरक व्यक्तिसँगको सम्पर्कको माध्यमबाट वैदेशिक रोजगारीका लागि ती महिला भारत पुगेका जनाइएको छ ।

प्रकाशित मिति : १५ पुस २०७५, आइतबार  ५ : १९ बजे