बुटवल पुस, १५–
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कांग्रेसले अब सरकारलाई प्रतिपक्ष कहाँ छ भनेर देखाईदिने बताए । आइतबार प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार भेटघाटमा खाँणले त्यसका लागि कांग्रेसले सबै पक्षसँग छलफल गरिरहेको समेत खुलासा गरे । उनले कांग्रेसले वर्तमान सरकारको सशक्त प्रतिवाद गर्ने समेत प्रष्ट पारे ।
५० अर्ब माथिका परियोजना प्रधानमन्त्री कार्यालयबाट कार्यान्वयन गर्ने, विभिन्न मन्त्रालयका अधिकार प्रधानमन्त्री कार्यालयमा केन्द्रित गर्ने, बाइडबडी विमान खरिद प्रकरणमा भएको अनियमितता, निर्मला पन्त हत्या प्रकरण लगायतका विषय उठाएर चालु संसदमा सशक्तरुपमा आवाज उठाउने उनको भनाइ छ ।
अहिलेको सरकार संसदीय शासन व्यवस्थाप्रति प्रतिबद्ध नरहेको आरोप लगाउँदै उनले भने, ‘अब प्रतिपक्ष यहाँ छ भनेर देखाउने बेला आएको छ ।’
प्रधानमन्त्री र मन्त्रीहरुका अभिव्यक्ति संविधानविपरित र गैरजिम्मेवार रहेको भन्दै खाँणले सरकारलाई सच्चिन सुझाव दिए । धेरै अवसर पाउँदा पनि सरकारले राम्रो काम गर्न नसकेको भन्दै उनले ओली(प्रचण्डको सरकार नाच्न नजान्ने र आँगनलाई दोष दिनेजस्तै रहेको टिप्पणी गरे ।
लोकतान्त्रिक पद्धती बन्दुक र बारुद पड्काएजस्तो नभएको भन्दै खाँणले दुई तिहाइ बहुमतको सरकारले लोकतन्त्र बिरोधी काम गरिरहेको आरोप लगाए ।