कता गायब भयो वाइडबडी खरिदको असली कागजात ?



काठमाडौं पुस, १७– उपसमितिले निगमसँग रकम भुक्तानीका सवालमा केही कागजात झिकाएको थियो तर निगमले ती कागजात नपठाएको एक सदस्यले बताए ।

निगम स्रोतका अनुसार कर्पोरेट विभागको अभिलेखमा समेत ती कागजात गायब गरिएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

निगम र हाईफलाई एक्स कम्पनीबीचको खरिदबिक्री सम्झौतामा एयरबसले बेचेको मूल्य विवरण उपलब्ध गराउने भन्ने उल्लेख थियो ।

हाईफलाई एक्स र एयरबसबीचको खरिद सम्झौता निगममा उपलब्ध हुनुपर्ने थियो तर विभिन्न बहानामा निगमले उक्त कागजात आइनसकेको भन्दै उपसमितिलाई बुझाएन ।

लेखापरीक्षण क्रममा समेत ती कागजात नदेखाई सीमित विवरण मात्रै पेस गरिएको महालेखा स्रोतले बतायो ।

अर्कोतर्फ निगमबाट हाईफ्लाइ एक्सका लागि रकम भुक्तानी गर्ने प्रक्रियाबारे भएको एस्क्रो सम्झौतामा एयरबससँगको खरिद सम्झौताको सबै विवरण नभई केही पाना मात्रै उपलब्ध गराउने सम्झौता गरिएको थियो ।

एक सदस्यले भने, ‘यसरी हेर्दा एयरबसले जारी गरेको बिल अनि एयरबस र कम्पनीबीचको खरिद सम्झौता कुनै हालतमा सार्वजनिक नगर्ने र गायब गर्ने योजना बनेको देखिन्छ ।’

कर्मचारी सञ्चय कोषले समेत ती विवरण माग्दा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले चिठी लेखी ‘ती कागजात आइनसकेको भन्दै प्राप्त हुनासाथ उपलब्ध गराउने’ भनी प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : पुस १७, २०७५ मंगलबार  १ : ३२ बजे